अस्ट्रेलिया र दुबईको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने २ पक्राउ

फाेटाे स्राेतः गुगल
फागुन २६, काठमाडौँ । अस्ट्रेलिया र दुबईको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
ठगीको आरोपमा धनुषाका २४ वर्षीय राजेश शाह र कपनका ललित तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरु बिरुद्ध पिडित पक्षले प्रहरी समक्ष उजुरी दिएपछी पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । डीएसपी बोगटी अनुसार शाहलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र तामाङलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो ।
पक्राउ परेका शाहले ३२ जना युवालाई दुबई लैजान्छु भनी प्रति व्यक्ति ८० हजार रुपैयाँ को दरले लिएका थिए भने तामाङले अस्ट्रेलियाका लागि प्रतिव्यक्ति ४० लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका शाह र तामाङमाथि मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाईने छ ।








