‘आवश्यक भन्दा बढि ग्यास भण्डारण नगर्नुहोस, दुर्घटना हुन सक्छ’


चैत्र ३, काठमाडौं । ग्यास उत्पादक तथा ब्यवसायीहरुले ग्यास अभाव नहुने बताएका छन् । कोरोना भाइरस संक्रमणको त्रासका कारण ग्यास अभाव हुने भन्दै उपभोक्ताहरुले चाहिने भन्दा बढि ग्यास संकलन गर्न थालेपछि ब्यवसायीहरुले ग्यास सर्टेज नहुने भन्दै उपभोक्तालाई ढुक्क रहन आग्रह गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल एल.पि. ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले कोरोना भाइरस त्रासका कारण उपभोक्ताहरुले आफुसँग भएका ग्यासका खाली सिलिण्डरहरु समेत एकै पटक भर्न ल्याउँदा ग्यासको माग बढ्न गएको बताए । उनले बजारमा ग्यासको अभाव नभएको भन्दै चाहिने भन्दा बढि माग भएकोले वितरणमा समस्या आएको जनाउँदै आवश्यक भन्दा बढि ग्यास संकलन नगर्न अनुरोध गरे ।
‘ग्यास आपुर्तिमा कुनै समस्या छैन, सरकारलेपनि एल.पि. ग्यास आपुर्तिमा कुनै असहजता नरहेको प्रष्ट्याइसकेको छ, कृपया हल्लाको पछि नलागी असुरक्षित रुपमा ग्यास भण्डारण नगर्नुहोस । चाहिएको जति मात्र लिनुहोस् ।’ उनले भने
भण्डारीले ग्यास आफैं अत्याधिक प्रज्वलनशिल भएकोले यसरी असुरक्षित रुपमा भण्डारण गरिँदा दुर्घटना समेत निम्तिन सक्ने जनाए । उनले उपभोक्तासँग घरमा भएको खाली सिलिण्डरमा मात्र ग्याँस भर्न र नयाँ सिलिण्डर बिक्रि नगर्न ग्यास बिक्रेतालाई अनुरोध गरिएको जानकारी दिए ।
ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर कुमार श्रेष्ठले पनि अत्याधिक माग भइरहेकोले खाली सिलिण्डर ल्याउने बित्तिकै उपभोक्ताले ग्यास नपाएको बताउँदै यो समस्या केही दिनमै हल हुने बताए । ‘एकाध दुई ठाउँमा ग्यास भर्ने उपभोक्ताको लाइन होला तर, सबै ठाउँमा छैन । ग्यास अभाव हुँदैन ।’
ग्यासको आयात बिगतको भन्दा बढि नै भइरहेकोले आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पारे । उनीहरुले ब्यवसायीहरुले ग्यास अभाव हुन नदिन तथा कृतिम अभाव सृजना गर्न नदिन सरकारसँग समन्वय गरेर अगाडी बढेको बताएका छन् ।
