डब्लूएचओले भन्यो- ‘कोरोनाको विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’

फागुन १३, काठमाडौं । सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जनाएको छ ।  

कोरोनाभाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू तयारीको चरणमा रहनुपर्ने डब्लूएचओले जनाएको हो । 

बीबीसीका अनुसार स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ । सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ । 

ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ । बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन् । 

डब्लूएचओका प्रमुखले क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना निकै चिन्ताजनक रहेको बताएका छन् । उनले यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना रहेका बताए ।   

विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ । 

हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको सङ्क्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ । इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ ।  

चीनबाट सुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन् । त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको सङ्क्रमण रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *