१४ वर्ष जेल बसेका प्रधानमन्त्रीको यस्तो छ राजनीतिक जीवन

फागुन ११, काठमाडौं । ६८ वर्ष पुरा गरि ६९ वर्षमा प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मदिन मनाउन जन्मघर झापाको आठराई गएका छन् । आठराई जानुपूर्व उनलाई आइतबार बिहान उनका शुभेच्छुकहरुले सरकारी निवास बालुटारमै शु्भकामना व्यक्त गरेका थिए । उनले बुवा मोहनप्रसाद ओली र धर्मपत्नि राधिका शाक्यसँगै केक काटरे जन्मदिन मनाएका छन् । बालुवाटारमा उनको जन्मदिनको यो कुनै औपचारीक कार्यक्रम भने होइन ।   

बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रुपमा २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा जन्मिएका केपी शर्मा (खड्गप्रसाद) ओली नेपालका ४१ औं प्रधानमन्त्री हुन् ।  २०२२ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका ओलीले २०२६ सलमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।   

२०२८ सालको झापा आन्दोलनका प्रमुख मध्यका एक उनी केही समयको भूमिगत जीवन पछि जेल परे । ओली तत्कालिन मालेका संस्थापक मध्य एक हुन् । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले १४ वर्ष (२०३० देखि २०४४ सम्म) जेल जीवन बिताउनु परेको थियो । जेल जीवनबाट मुक्त भएपछि प्रधामन्त्री ओली २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य मा निर्वाचित भएका थिए ।   

पहिलो संविधानसभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र  नं ७ बाट पराजित भएका थिए । २०४९ सालमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भएका उनी २०७१ असारमा पार्टीको अध्यक्षमा निर्वाचित भएका हुन् ।   

दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच एकता भएपछि उनी नेकपाका अध्यक्ष समेत रहेका छन् । 

झापामा विद्यालय जीवन सुरु गरेका प्रधानमन्त्री ओलीले ४ कक्षासम्मको अध्ययन गाउँमै पुरा गरेका थिए । उनले झापाको आदर्श माध्यामिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गरेका थिए । प्रधानमन्त्री  ओलीलाई प्रखर र स्पष्ट वक्ताका रुपमा लिइन्छ । २०७२ सालमा प्रधानमन्त्री हुँदा भारतले गरेको नाकाबन्दीको कडा सामना गरेका ओलीलाई राष्ट्रवादी नेताका रुपमा लिने गरिन्छ । भाषण गर्दा उखान टुक्कालाई प्रयोग गरेर हाँस्यरसलाई मिसाउन खप्पिस छन् उनी । तर उनको यो कलालाई अहिले जनताले त्यति रुचाएका देखिँदैनन् ।   

बाबुआमाले राखिदिएको नाम खड्गप्रसाद ओलीलाई सानो बनाएर केपी ओलीका नामले परिचित उनी नेपालका कुशल राजनीतिज्ञ तथा बर्तमान ४१ औं प्रधानमन्त्री हुन् । २०७२ सालमा मुलुकको पहिलो प्रधानमन्त्री बनेका उनी पछिल्ले पटक पाँच वर्षे स्थायी सरकारका प्रधानमन्त्रीका रुपमा रहेका छन् । प्रधानमन्त्री ओली आठौं बामपन्थी नेता पनि हुन् ।   

राजनीतिक आरोह अबरोह पार गर्दै आएका उनले जेल जीवन हुँदै मुलुकको प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका हुन् । उनी विभिन्न समयमा मुलुकको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री समेत भइसकेका छन् ।   

राजनीतिक हिसाबले शसक्त र सक्षम नेताका रुपमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था भने निकै नाजुक छ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका उनले अहिले त्यसको आयु सकिएपछि डाइलासिस गराइरहेका छन् ।   

उनै प्रधानमन्त्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *