चन्द्रमामा जाने नयाँ अन्तरिक्षयात्री खोज्दै नासा, चाहिन्छ यस्तो योग्यता

फागुन ३, काठमाडौं । विगत आधा शताब्दीमा मानिसहरूले चन्द्रमामा पाइला नटेकेको भएपनि नासाले अब त्यो स्थितिलाई बदल्ने सोचेको छ । 

नासाले सन् २०२४ सम्ममा चन्द्रमामा पहिलो महिला र त्यसपछि अर्को पुरुष पठाउने योजना बनाएको छ । त्यसका लागि उसले उम्मेदवारहरू खोजी गरिरहेको छ । बीबीसीका अनुसार, २ मार्चदेखि ३१ तारिखसम्म नासाले आवेदन खुलाउँदैछ ।   

सन् १९६० को दशकदेखि नासाले ३ सय ५० अन्तरिक्षयात्रीलाई छानेर तालिम दिएको छ । तीमध्ये ४८ जना कार्यरत छन् । नासा अमेरिकी संघीय निकाय भएकोले पहिलो प्राथमिकता अमेरिकी नागरिकलाई दिइन्छ । तर, दोहोरो नागरिकता लिएकाले पनि आवेदन दिन पाउँछन् । पूर्व ब्रिटिश अन्तरिक्षयात्री पिएर्स सेलर्सले ब्रिटेन छोडेर अमेरिकी नागरिक बन्दै आफ्नो सपना साकार पारेका थिए । 

उम्मेदवारहरूले विज्ञान वा गणित विषयको अध्ययन गर्दै स्नातकोत्तरसम्मको अध्ययन गरेको हुनुपर्ने नियम छ । चिकित्सक वा विमान चालक पनि योग्य ठानिन सक्ने भनिएको छ । उनीहरूसँग दुई वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने भनिएको छ । अनलाइनमा आवेदन भरेपछि उम्मेदवारहरूको स्वास्थ्य जाँच हुने बताइएको छ । त्यसपछि उनीहरूले दुई वर्ष तालिम लिनुपर्ने छ । 

तालिममा जाने उम्मेदवारहरूले जल सेनाको तालिम, प्राविधिक सीप, रोबोटिक्स् र रुसी भाषाको अध्ययन गर्नुपर्ने छ । नासाको लागि काम गर्न योग्य नहुनेहरूलाई अन्तरिक्षमा जाने अन्य अवसरहरू उपलब्ध छन् । 

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा समय बिताउन पाएका २ सय ३९ अन्तरिक्षयात्रीमध्ये १ सय ५१ जना अमेरिकी नागरिक हुन् भने अरु विश्वका अन्य देशका नागरिक हुन् । नासाको तालिम लिन नपाउनेहरूसामु अरू विकल्प छन् । भर्जिन ग्यालेक्टिक यो वर्षको अन्त्यतिर अन्तरिक्षमा पर्यटक लैजाने पहिलो निजी कम्पनी बन्दैछ ।  

बीबीसी   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *