‘सरकारले आफ्नालाई जोगाउने अरुलाई समात्ने रणनीति अपनायो’

माघ २३, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सरकारले आफ्नालाई जोगाउने अरुलाई समात्ने रणनीति अपनाएको नेपाली कांग्रेसले ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिपरिषद्ले गरेको निर्णयमा अख्तियारले तत्कालिन भौतिक, योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रह राखेर मुद्दा दायर गरेको जिकिर गरे ।   

हिजो माघ २२ गते ललिता निवास जग्गा प्रकरणमा आयोगले विजयकुमार गच्छदार सहित एक सय ७५ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि आज आकस्मिक रुपमा पार्टीको बैठक गर्दै जग्गा प्रकरणमा सुरुवात देखि नै सरकारले आफ्नालाई जोगाउने, अरुलाई समात्ने रणनीति अपनाएको ठहर गरेको हो ।   

‘बालुवाटारको जग्गा प्रकरणमा सरकारले संबैधानिक अंग अख्तियारलाई प्रयोग गरेर राजनीतिक पूर्वाग्रह राखेर आफ्नालाई जोगाउने, बाहिरकालाई समात्ने रणनीति अपनाएको छ ।’ शर्माले भने ।   

उनले कानुनी रुपमा मात्र नभई राजनीतिक दृष्टिकोणबाट समेत विष्लेषण गर्दै बालुवाटार जग्गा प्रकरणको गहिरोसँग छानविन गरिनु पर्ने बताए ।   

‘ललिता निवास जग्गा प्रकरण एउटा सरकारको पालामा भएको घटना हैन, दुई–दुई वटा प्रधानमन्त्री समेत छन्, उनीहरुलाई कसरी उन्मुक्ति दिएर तत्कालिन मन्त्रीहरुलाई मात्रै दोषि ठहर्याईयो ?’ शर्माले प्रश्न गरे ।   

उनले सरकारले आयोगको अनुसन्धानलाई नै प्रभावमा पारेर मुद्दा चलाईएको दावि गरे । ‘पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईको नाम जोडिए पनि उनीहरुलाई मुद्दा चलाउन नपर्ने तर, त्यहि मन्त्रिपरिषद्का सदस्य मन्त्रीहरुलाई मुद्दा लाग्ने कुन कानुन प्रक्रिया हो ?’ उनले प्रश्न गरे ।   

शर्माले संसदीय प्रणालीमा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सहमति वेगर कुनैपनि विषय टेवुल हुनै नसक्ने बताए ।   

ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीहरु दोषी देखिएपनि मन्त्रिपरिषद्को निर्णयमा आयोग आफैंले कारवाहीको पक्रियामा जान नमिल्ने भन्दै गर्दा प्रतिपक्षको सहयोग लिनुपर्नेमा आयोग चुकेको जिकिर गरे ।   

शर्माले अनुसन्धान विधि र तथ्यमा आधारित भएर गर्नका लागि नेपाली कांग्रेस सहयोग गर्न तत्पर रहेको बताउँदै आयोगलाई दुरुपयोग गर्ने सरकारको मनोविज्ञान रहेको आरोप लगाए ।   

उनले नेकपा महासचिब विष्णु पौडेलका छोराले जग्गा फिर्ता गरेकै आधारमा उन्मुक्ति दिनु पनि गलत रहेको बताए । ‘महासचिवको सुपुत्रको नाममा जग्गा लिएको सत्य हो । जग्गा फिर्ता गरे मुद्दा नचलाउने विश्वमै नयाँ नजिर स्थापित गराउने काम भएको छ ।’ उनले भने ।   

‘भोली कसैले डकैती गरेर दुई वर्षपछि फिर्ता ल्याउँदा माला लगाएर स्वागत गर्ने ?’ शर्माले प्रश्न गरे । साथै अख्तियारले राजनीतिक दवाव र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्नुपर्छ भने ।   

शर्माले उपसभापति विजयकुमार गच्छदार ललिता प्रकरणमा अदालतमा उपस्थित हुने र कानुनी रुपमा सामना गर्नेपनि बताए । साथै सरकारी जग्गा प्रकरणमा संलग्न जो कोहीलाई उन्मुक्ति दिन नहुने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *