हुबेइमा रहेका नेपालीहरु स्वदेश फर्कन वुहानमा यसरी जम्मा हुँदै
फाल्गुन ३, काठमाडौँ । सरकारले चीनको हुबेइ प्रान्तमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज बुहानतर्फ पठाइसकेको छ । शनिबार दिउँसो ३ बजे काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज उडको हो ।
चीनको हुबेईका विभिन्न सहरमामा रहेका १८२ जना नेपालीहरुलाई वुहान ल्याउन क्रम पनि जारी छ ।
चीनको हुबेई प्रान्तबाट १८२ जना नेपाली विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। वुहानको थ्येनह विमानस्थलसम्म विद्यार्थीलाई बसमार्फत ल्याइनेछ। अनसी र सयान सहरबाट बसमा वुहान पुग्न ७–८ घण्टा लाग्छ।
चिङचौ २४० किलोमिटर, चिङमन २८४ किलोमिटर र यिछाङ ३३५ किलोमिटर टाढा छ। यी ६ वटा सहरका लागि ५ वटा बस उपलब्ध गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। यी सहरबाट चिनियाँ समयअनुसार शनिबार बिहान ५ बजे बस छुट्नेछन्। राति ९ बजे नेपाल वायुसेवाको जहाज वुहान अवतरण गर्ने र ११ बजे काठमाडौंका लागि उड्नेछ। नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ।
विमानस्थलमा अवतरण गरेपछि ती विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ ।
काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ। विमानका ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ।
नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।