अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज पार्छु : महानिरीक्षक ज्ञवाली

माघ २९, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेपनि त्यसको सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन्  ।   

गृहमन्त्रालयमा बुधबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गर्दै उनले मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको जकिर गरे ।   

संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।   

उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि  निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वास व्यक्त गरे ।   

आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा रहेको बताउँदै उनले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =