तीन खम्बे नितिले मात्रै समृद्धी हुनेः प्रचण्ड

पुष १७, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन खम्वे नितिबाट मात्रै मुलुकको समृद्धी हुने बताएका छन् ।
चितवन रत्ननगर ५ टरौली नेपाल कृषि सहकारी केन्द्रिय संघले निर्माण गरेको तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन तथा संघको १२ औं वार्षिक साधारण सभालाई बिहीवार सम्बाेधन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सार्वजनिक, निजी र सहकारीको साझेदारीमा मुलुकको विकास हुने बताएका हुन् ।
संविधानले पनि तीन खम्बे अर्थ नितिलाई आत्मसाथ गरेको भन्दै प्रचण्डले समतामुलक समाज निर्माण गर्नु पर्ने बताए । कृषि सहकारीले तल्लो तहका जनतालाई संगठित गराउँदै आर्थिक क्रान्तीमा सहभागी गरेकामा प्रसंसा गर्दै उनले उत्पादनलाई बढाउन तर्फ ध्यान केन्द्रित हुनु पर्ने औल्याए ।

संघका केन्द्रिय अध्यक्ष खेमवहादुर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले तल्लो वर्गको उत्थान बिना समृद्धी नआउने बताए ।
सो अवसरमा कृषि मार्फत उद्यमी बनेका चितवन बीरेन्द्रनगरका रामहरी उप्रेतीसहित २३ जना कृषकहरुलाई ताम्रपत्रसहित नगदले सम्मान गरिएको थियो । सहकारी संघका केन्द्रिय सचिव हरि प्रसाद पौडेलका अनुसार करिब ३ करोडको लागतमा आवासीयसहित तालिम केन्द्रका लागि २ वटा भवन निर्माण गरिएको हो ।
नेपाल सरकारको ८० प्रतिशत र संघको २० प्रतिशत साझेदारीमा केन्द्र निर्माण गरिएको हो । आफ्नै ४ बिगाहा जमिन समेत रहेको सो केन्द्र मार्फत कृषि र सहकारीका तालिम संचालन गर्नुका साथै केही समय पछि शीप मुलक तालिम पनि दिईने सचिव पौडेलले बताए ।








