सिड्नीका सुरक्षा अधिकारीहरुले रोके ‘भिजिट नेपाल २०२०’ को र्याली

पुस २२, काठमाडौं । सिड्नीका सुरुक्षा अधिकारीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्वमा रहेको ‘भिजिट नेपाल २०२०’ को र्याली रोकिदिएका छन् ।   

सिड्नी शहरका सुरक्षाकर्मीहरूले नेपाल वर्ष २०२० भ्रमण गर्ने अभियानको थालनीमा ‘प्रक्षेपण’ गर्न आयोजना गरिएको जुलुस रोकेका हुन् जुन नेपालको महत्वाकांक्षी पर्यटन प्रवद्र्धन अभ्यास थियो । आयोजकहरुले सम्बन्धित अधिकारीहरुसँग अनुमति नलिएका कारण र्याली रोकिएको जनाइएको छ ।   

न्यू साउथ वेल्स प्रहरीका अनुसार र्याली व्यावसायिक लाभका लागि मात्रै भएको र पूर्वअनुमति नलिएका कारण रोक लगाइएको हो । अनुमतिबिना र्‍याली निकाल्दा पैदलयात्रीलाई असर पर्ने भएकाले रोक लगाइएको अष्ट्रेलियन प्रहरीको दाबी छ। 

उक्त र्यालीको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, एन एस डब्ल्यू नेपालका कन्सल जनरल दीपक खड्का र भिक्टोरिया चन्द्र योन्जोनका कन्सुल जनरलले गरिरहेका थिए। 

पर्यटनमन्त्री भट्टराई दुई दिन अघि (पुस २० गते) मात्रै अष्ट्रेलिया पुगेका थिए । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया गएका हुन् ।   

अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ ।   

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने बताइएको थियो । यद्यपी यसबारे कुनै कुरा बाहिरिएको छैन । नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =