वीपीमा विजुलीको शुल्कमा घोटालाको आशंका, शाखामा नभएकै मान्छेको नामबाट भौचरमा हस्ताक्षर

पुष १८, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाडामा बस्ने व्यवसायीले तिरेको विजुलीको शुल्कमा घोटाला भएको आशंका गरिएको छ । 

प्रतिष्ठानको इलेक्ट्रिकल विभागका अधिकृत तेजनारायण साहले झण्डै ७ महिनादेखि व्यवसायीहरुबाट विजुलीको शुल्कवापत बुझ्दै आएको रकम घोटाला भएको आशंका गरिएको हो । उनले व्यवसायीहरुबाट विजुलीको शुल्क उठाए बापत दिएको भौचर अर्कै व्यक्तिको नामबाट गएपछि सो रकम घोटाला भएको आशंका गरिएको हो ।   

भाडावाल व्यवसायीहरुले आर्थिक करोबारको अधिकार नै नभएको व्यक्तिलाई आफुहरुले पैसा बुझाएको खुलेपछि बिहीबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाललाई लिखित रुपमा निवेदन नै दिएका छन् । 

प्रतिष्ठानमा सञ्चालनमा रहेका  टेक्सन भोजनालय, स्टार्फ क्याण्टिन र माउण्ट नेपालले घोटला भएको आशंकामा उपकुलपतिसमक्ष निवेदन बुझाएका हुन् ।   

उनीहरुले अधिकृत साहले विद्युत वापतको रकम यही इलेक्ट्रीक सेक्सन अफिसमा बुझाउने भनि पटक पटक फोन मार्फत जानकारी गराएकोले विजुलीको विलवापतको रकम आफुहरुले साहलाई नै बुझाउदै आइरहेको उल्लेख गरेका छन् ।   

निवेदकहरुले रकम बुझाएको भौचर पनि प्रतिष्ठानमा निवेदनसँगै बुझाएका छन् । व्यवसायीहरुले अधिकृत साहलाई पैसा बुझाए पनि उनीहरुलाई दिइएको भौचरमा भने एम.के.राईले पैसा बुझेको उल्लेख छ । साथै, एम.के.राईकै हस्ताक्षर पनि छ । तर, इलेक्ट्रिकल शाखामा एम.के.राई नाम गरेका कोही पनि कर्मचारी छैनन् ।   

इलेक्ट्रिकल विभाग प्रमुख नेत्र खड्काले पनि उक्त नाम गरेको कोही व्यक्ति नभएको बताए । साथै, यो घटनाबारे प्रतिष्ठानले आन्तरिक छानबिन गरिरहेकोले आफुले केही बोल्न नमिल्ने बताए । 

प्रतिष्ठानका उपकुलपति डा.खनालले पनि भर्खर मात्र यस बिषयमा थाह भएकोले विस्तृत बुझ्न बाँकी नै भएको बताए । केही दिनभित्रै वास्तविकता बाहिर आउने उनको भनाई छ । डा. खनालले प्रतिष्ठानमा यदी यस्ता घटना घटेका छन् भने अब प्रतिष्ठानलाई सफा बनाउने दिन आएको बताए । उनले भने, ‘प्रतिष्ठानमा सुधारका काम भैरहेको छ, लुकीछिपी चोरीचकारी गर्ने, पदीय दायित्व भन्दा बाहिर जानहरुको अब दिन गन्ति सुरु भयाे।’   

डा. खनालका अनुसार तीन चार महिना भित्र प्रतिष्ठानमा गलत काम गर्ने र प्रतिष्ठानलाई दुर्गन्धित बनाउनेहरु हटेर जानेछन् ।   

यसैबीच इलेक्ट्रिकल सेक्सनका अधिकृत साहले भने आफुले त्यसरी पैसा लिन नमिल्ने र नलिएको पनि दाबी गरे । ‘मैले पैसा लिनै मिल्दैन, लिएको पनि छैन । मलाई फसाउने काम हुदैछ,’उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *