आफ्नै साथीको हत्या गर्ने तीन पक्राउ

माघ ६, पर्सा । पर्सामा प्रहरीले आफ्नै साथीको हत्या गरी बाँसघारीमा शव फाल्ने तीन जनालाई पक्राउ गरेको छ ।
पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी बाँसघारीमा शव फाल्ने उनका ती साथीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर टोल बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र रानीघाट टोल बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेको पर्सा प्रहरीले जनाएको छ ।

गत पुस १९ गते शरीरको विभिन्न भागमा चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा सहनीको शव वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरस्थित बाँसघारीमा फेला परेको थियो ।
प्रहरीका अनुसार केही समय पहिले अजयले भारतबाट म्याजिक टेम्पोमा झण्डै ३ लाखको किराना समान ल्याउँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले समातेको थियो । उक्त समान सुरेन्द्रको सुराकीको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको आशंका अजय लगायतले गरेका थिए । पुस १९ गतेसँगै लागूऔषध गाँजा सेवन गर्न बसेका उनीहरुबीच यही विषयमा विवाद हुँदा सुरेन्द्रको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।








