अष्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर, आपतकाल घोषणा

माघ १७, काठमाडौं । करिब पाँच महिनादेखि लागेको अष्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणमा नआएपछि अष्ट्रेलियाले आपतकाल घोषणा गरेको छ ।   

गत सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी सहर क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि अष्ट्रेलियाले आपतकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।   

आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने बताइएको छ । सहर खाली गर्न, सडक बन्द गर्न अधिकारीहरूलाई आदेश पनि दिइसकिएको छ । 

सन् २००३ मा लागेको डढेलोपछि पहिलोपटक ‘आपतकाल’ घोषणा गरिएको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ ।   

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिस बसोबास गर्छन् । नबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएको छ । डढेलोका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । करिब २५ सय घर जलेर नष्ट भइसकेका छन् भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ। 

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् । 

त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेका बताइएको छ । अधिकारीहरूका अनुसार हावाहुरीका कारण आगोहरू तटीय क्षेत्रमा आइपुग्ने जोखिम बढेको छ। आगो अनुमान गरिएभन्दा छिटो मानवबस्ती नजिक आइपुग्न थालेको बताइएको छ। निभाउने प्रयास जारी राखिएको बताइएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *