कोरना भाइरस फैलन नदिन पर्यटन मन्त्रालयको यस्तो छ निर्देशन

माघ १३, काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनमा कोरोना भाइरस फैलिएका कारण नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ। कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको हो ।

भिजिट नेपाल २०२० मा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्व सतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा बसेको बैठकमा मन्त्रालय अन्तर्गतका निकायहरुबाट भएका काम कारवाहीको समीक्षा गर्दै निर्देशन भएको छ ।

प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीचमा समन्वयात्मक रुपमा कार्य गर्ने र यस सम्बन्धमा उच्च सतर्कता अपनाउँदै पूर्वतयारीको अवस्थामा रहने गरी तयारी गर्न निर्देशन भएको छ । मन्त्रालयले उच्च सतर्कता अपनाउन १२ बुँदे निर्देशन दिएको जनाएको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई प्रवेश विन्दुको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गर्ने, डेक्सका लागि आवश्यक स्थान उपलब्ध गराउने र समन्वय एवम् सहजीकरण गर्ने लगायतको निर्देशन दिएको छ । चीनबाट आएका पर्यटकमा कोरोना भाइरसको संक्रमणको अनुमान गर्न सकिने कुनै पनि लक्षण देखिएमा होटल, ट्राभलरट्रेकिङ्ग एजेन्सीलगायतका सरोकारवालाबाट यथाशिघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्‍याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

नेपाल आउने हवाई जहाजहरु अवतरण गर्नु पूर्व यात्रुहरुलाई डेडिकेटट हेल्थ डेक्समा गई आधारभूत जाँच गराउन उद्घोष गर्ने व्यवस्था तथा विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड बमोजिम अवतरणको समयमा जहाजलाई संक्रमणबाट बचाउने  व्यवस्था मिलाउने, पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाहरुले भाइरसको बारेमा अवलम्बन गर्नुपर्ने सजगता एवम् पूर्व सावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सु-सूचित गर्ने गराउने रहेका छन्।

यस्तै कुनैपनि स्वास्थ्यसम्बन्धी उल्लेखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवम् गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने गराउने, नेपालमा स्थलमार्गबाट समेत पर्यटक प्रवेश गर्ने स्थानहरु खासगरी रसुवा, यारीनाका लगायत उत्तरी सिमानाकाहरु समेतमा उल्लेखित सतर्कता र पूर्वसावधानीहरु अपनाउन निर्देशन भएको छ। भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने भएकोले यस सम्बन्धमा सबैले पूर्व सावधानी एवम् सजगताका साथ कार्य गर्ने गराउने, विमानस्थलमा कार्यरत कर्मचारीहरुले कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न निर्देशन भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डौ, पोखरा, चितवन, लुम्बिनी जस्ता चिनीयाँ पर्यटक बढि हुने स्थानहरुमा यस सम्बन्धमा विशेष पूर्व सावधानी अवलम्बन गराउन, कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका सम्बन्धमा जनचेतना बृद्धि गर्ने किसिमका क्रियाकलापहरु सबैले गर्ने गराउन, मानिसहरुको धेरै आवतजावत हुने धार्मिक, साँस्कृतिक स्थानहरुमा सचेतनामूलक प्रचार प्रसार कार्य संचालन गर्नेलगायतका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेका पोष्टर, पम्पलेट, सूचना मूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभलरट्रेकिङ्ग कम्पनीका कार्यस्थलमा पर्यटकले देख्नेगरी राख्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *