कांग्रेस संस्थापनइतरका नेताहरुको बैठक महामन्त्री निवासमा

माघ ९, काठमाडौं । आन्तरिक विवादमा अल्झिएको नेपाली कांग्रेसको संस्थापन इतरका शीर्ष तहका नेताहरुको बैठक अहिले बसिररहेको छ । शुक्रबार सभापति निवासमा बोलाईएको बैठकमा कतिसम्म लचिलो भएर प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न महामन्त्री डा. शशांक कोइराला निवासमा शीर्ष तहका नेताहरुको बिहीबार बैठक बसेको हो ।   

शीर्ष तहका नेताको बैठकपछि आजै अपरान्ह ४ बजे संस्थापनइतरकै केन्द्रीय सदस्यहरुसंग पनि छलफलका लागि बोलाइएको छ । संस्थापन पक्षसँग बुधबार भएको छलफलको प्रगति शीर्ष नेताहरुले केन्द्रीय सदस्यहरुलाई जानकारी गराउने भएका छन्। 

शीर्ष तहको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला,प्रकाशमान सिंह लगायतका नेताहरु छन्। 

पुस ११ गते बसेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेपछि पार्टीभित्रको विवाद बढेको थियो। निर्वाचन कार्यतालिका,विभाग गठन, भ्रातृ संस्था गठन, विधानका धारा निलम्बन लगायतका विषयमा पार्टीभित्र विवाद छ। 

सहमति पहिल्याउन सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान पुनः शीर्ष नेताको बैठक बोलाएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *