एक वर्षमा कृषि विकास बैंकको नाफा १७ प्रतिशतले बढ्दा खराब कर्जा १९ प्रतिशतले घट्यो

माघ ५, काठमाडौं । ५३ औं वार्षिकोत्सव मनाउ गइरहेको कृषि विकास बैंकले एक वर्षमा वित्तीय परिसूचकमा उल्लेख्य सुधार गरेको छ ।   

बैंकको गतवर्षको पुस मसान्त र यो वर्षको पुस मसान्तको तथ्यांक विश्लेषण गर्दा परिसूचकमा सुधार भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले  बताए ।   

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो वर्षको पुस मसान्तसम्ममा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा यो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप रहेको उनले जानकारी दिए । 

एक वर्षमा बैंकको निक्षेप १५।४४ प्रतिशतले बढेको छ भने, बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ ।   

‘गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्षको पुस मसान्तसम्म आइपुग्दा १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ ।’ प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पत्रकार सम्मेलनमा भने । 

पत्रकार सम्मेलनमा बैंकको खराब कर्जाको अनुपात पनि घटेको जानकारी दिइयो । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पुस मसान्त आइपुग्दा खराब कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । एक वर्षको बीचमा बैंकको खराब कर्जा १०.३१ प्रतिशतले घटेको दावि गरिएको छ । 

खराब कर्जा रकमका आधारमा १०।३१ प्रतिशतले घटेको देखिए पनि प्रतिशतका आधारमा भने निकै घटेको देखिएको छ । गत वर्षको पुसमा ४।४२ प्रतिशत रहेको खराब कर्जा अनुपात यसवर्षको पुसमा ३.५९ प्रतिशतमा झरेको छ । यो एक वर्षको बीचमा प्रतिशतका आधारमा बैंकको खराब कर्जा १८.६४ प्रतिशतले कम भएको छ । 

यसैगरी बैंकको करअघिको नाफामा पनि १७ प्रतिशतले बृद्दि भएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले चालु पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ ।   

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेको बैंकले जानकारी दिएको छ । गत वर्षको पुस मसान्तमा २३।५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ । 

बैंकले २ अर्ब ५० करोड बराबरको  ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । उक्त रकम बराबरको ऋणपत्र निष्काशन गर्ने तयारी गरिरहेको छ । साथै, बैंकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसनसँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम बनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *