युवाहरुलाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य होः अर्थमन्त्री खतिवडा

माघ ७, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ क्षेत्रमा नयाँ कर्मचारीलाई पनि अवसर तथा हौसला दिन आग्रह गरेका छन् ।   

कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आज (मंगलबार) अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।   

‘बैंक तथा वित्तिय संस्थामा पुराना कर्मचारीको मात्र अखडा नबनाऔँ । नयाँलाई पनि अवसर दिऔँ । नयाँ कर्मचारीमा केही नयाँ ज्ञान हुन सक्छ । ज्ञान, सीप भएका कर्मचारीलाई नल्याए संस्थामा कुपोषण हुन्छ’, अर्थमन्त्री खतिवडाले भने । 

उनका अनुसार प्रविधि सम्बन्धी ज्ञान, सीप भएका युवाहरुलाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य हो । पुराना कर्मचारीहरु स्वतः प्रमोसनबाट माथि जाँदा युवालाई पनि अवसर दिनुपर्ने उनको भनाइ छ ।   

पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको उनको दाबी छ । उनले भने, ‘पछिल्लो समय नेपालको वित्तीय क्षेत्र एशियामा नै राम्रो भएको छ । अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता मान्नु पर्दैन ।’ 

मन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न सुझाव दिए । बैंकहरूले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरे ।   

त्यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले सहुलियतपूर्ण कर्जामा गम्भिर हुन सम्पूर्ण वाणिज्य बैंकहरुलाई आग्रह गरे ।   

सहुलियतपूर्ण कर्जा वितरणको अवस्था दयनीय भएको उनको भनाइ छ ।   

‘सहुलियतपूर्ण कर्जा नेपाल सरकारले सुरक्षण गरेको अवस्था छ, सुरक्षणवापतको दस्तुर नेपाल सरकारले ७५ प्रतिशत तिरेको छ, कर्जा डुब्यो भने नेपाल सरकारले ग्यारेन्टी पनि गरेको छ, कर्जा वितरण गर्न वाणिज्य बैंकलाई कन्जुस्याईँ किन ?,’ उनले प्रश्न गरे ।   

कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि बैंकले देशको गरिबी निवारण, सर्वसाधारणलाई बैंकिङ पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।   

नेपालको बैंकिङ क्षेत्रलाई कम्प्युटर प्रणालीमा लिनका लागि कृषि विकास बैंकको ठूलो योगदान रहेको उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *