भूकम्पले जिर्ण बनेको पुरानाे संसद भवन भत्काउन विकास समितिको निर्देशन

पुष २९, काठमाडौं । पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।
भूकम्पले क्षतिग्रस्त बनाएको पुरानो संसद भवन भत्काउने विषयमा मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँग छलफल भएको थियो । सो छलफलपछि नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।
क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।
शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् ।








