भ्रमण वर्ष २०२० : मलेसिया र श्रीलंकाका राजदूत सौराहमा (फोटो फिचर)
माघ १, चितवन । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को अवसरमा दुई देशका राजदूत चितवन भ्रमणमा आएका छन् । नेपाल स्थित मलेसियाका राजदूत अमहद फदिल इस्मेल र श्रीलंकाका राजदूत हिमाली अरुणतिलका सौराहा घुम्न आएका हुन् । बागमती प्रदेश सरकारको निमन्त्रणमा उनीहरु दुई दिने भ्रमणका लागि यहाँ आएका हुन् ।
नेपालकै तेश्रो पर्यटकीय नगर सौराहा आएका श्रीलंका र मलेसियाका राजदूतहरुले चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्नुका साथै हात्तीका गतिविधिहरु अवलोकन गरेका छन्
राजदूतहरुले चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी गर्नुका साथै हात्तीका छावाहरुको फुटबल हेरेका छन् । उनीहरुले विभिन्न जातजातिहरुको सांस्कृतिक क्रियाकलापबाट समेत मज्जा लिए । यस्तै, उनीहरुले खोरसोर स्थित हात्ती प्रजनन केन्द्रको अवलोकन समेत गरेका थिए ।
उनीहरुले बाघमारा चौरमा भएको फुटवल खेलको करिव १५ मिनेट अवलोकन गरेका हुन् । उनीहरुकै लागि छावाहरुको फुटवल आयोजना गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र दुर्लभ एक सिंगे गैडा हेर्ने मौका नपाएका उनीहरुले सपना भिलेज नजिकै भने गैडा हेर्न जुर्यो । राजदूतहरुले गैडासँग फोटो्समेत खिचे ।
उनीहरुलाई रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उप मेयर विमलादेवी दुवाडी र सौराहाका होटल व्यवसायीहरुले स्वागत गरेका थिए । रत्ननगरका प्रमुख वनले भ्रमण वर्षलाई सफल पार्न संघ, प्रदेश र स्थानीय तहले व्यवसायीहरुसँग मिलेर साझा दृष्टिकोण बनाउनु पर्ने बताए ।
सौराहाको पहिचान विभिन्न देशमा चिनाउन सके भ्रमण वर्ष सफल हुने उनको दावी थियो ।
राजदूतहरुसँगै सौराहा आएका नेपाल भ्रमण वर्ष २०२० का मूल समिति संयोजक सुरज वैद्यले भ्रमण वर्ष सफल पार्न राजदूतहरुको भ्रमण महत्वपूर्ण हुने बताए ।
विभिन्न देशका नागरीक नेपाल ल्याउन राजदूतहरुको भूमिका महत्वपूर्ण हुन्छ नेपाल उद्योग वाणिय महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्यले भने, ‘उनीहरुको भ्रमणले वाईल्डलाईफलाई संसारमा बढावा दिन मदत गर्छ । उनले पर्यटनको क्षेत्रमा लगानी भित्र्याउन समेत उनीहरुको भूमिका रहने बताए । सौराहा सफारी पर्यटनबाट मात्र संचालित भएकाले नयाँ गतिविधि दिनु पर्ने वैद्यको सुझाव छ ।
वागमती प्रदेश सरकारले सौराहाबाटै प्रदेशको भ्रमण वर्षको सुभारम्भ गरेको थियो । प्रदेश सरकारको निमन्त्रणमा विभिन्न देशका १५ जना राजदूतहरु सौराहा आउने भनेर प्रचार गरिए पनि सोमवार दुई जना राजदूतका परिवारहरु यहाँ आएका थिए ।