आवाज र दिमागबाट चलाउन सकिने कार

पुस २९, काठमाडाैँ । सफ्टवेयर र सेन्सरले भरिएका, मोबाइल फोनसँग जोड्न सकिने र बढ्दो सङ्ख्याका अर्न्तक्रियात्मक  स्क्रिनका साथ आउने वाहन सम्भवतः बजारमा पाइने सबैभन्दा जटिल उपभोग्य प्रविधि हो । 

यो कुरा लस भेगसमा वार्षिक रूपमा सम्पन्न हुने कन्जुमर इलेक्ट्रोनिक सो (सीएएस) मा प्रदर्शनमा राखिएका सामग्रीले पनि देखायो ।   

सोमा प्रमुख वाहन निर्माताले भविष्यमा बजारमा ल्याउन सकिने कैयौँ कारका परिकल्पना (कन्सेप्ट) सार्वजनिक गरे । त्यस्तै तिनले कारको भित्री भागका धेरै नयाँ प्रविध भित्र्याएका छन् ।   

अझ सोनीजस्ता केही कार नबनाउने कम्पनीले समेत कन्सेप्ट कार सार्वजनिक गरेका छन् ।   

अवतारबाट प्रेरित मर्सिडिज बेन्जको कार 

सीईएस सोमा सबैभन्दा बढी चर्चा मर्सिडिज बेन्जको भिजन एभीटीआर थियो । अत्याधुनिक कारको यो खाकामा सैद्धान्तिक रूपमा कार र मानिस एकाकार हुन सक्छन् । यो भविष्य पनि धेरै पछिको कल्पना जस्तो देखिन्थ्यो ।   

मर्सिडिज–बेन्ज भिजन एभीटीआर कारका केही कामहरु चालकले दिमागले सोचर सञ्चालन गर्न सक्छन् ।   

भिजन एभीटीआर परम्परागत स्टेरिङ हुँदैन, त्यसको साटो कारमा एक चलायमान उठेको भाग हुनेछ जसले चालक र कारलाई एकाकार हुन सहयोग गर्छ । त्यस नियन्त्रण भागले अन्य कैयौँ विशेषता पूरा  निभाउँछ । 

यो कारले आफ्ना चालकलाई उसको हृदयगति वा सासमार्फत पहिचान गर्छ । कार चलेपछि सम्पूर्ण विशेषताहरु रहेको एक भर्चुअल स्क्रिन चालकको हातमै देखिन्छ । त्यसपछि उसले सोचेर भावि कदम उठाउन सक्छ ।   

भिजन एभीटीआर गँगटो जसरी पनि हिँड्न सक्छ । त्यस क्रममा कारका चारवटै चक्का ३० डिग्री घुम्छन् ।   

मर्सिडिज बेन्ज भिजन एभीटीआर हाल निर्माणाधीन अवतार–२ फिल्मका निर्मातासँगको सहकार्यमा निर्माण गरिएको हो । कारको भित्र बाहिर बल्ने बत्ती पहिलो अवतार फिल्ममा देखिएको प्यान्डोरा ग्रहको रङसँग मिल्छ ।   

ग्राहकले डिजाइन दिनसक्ने फियाट सेन्टोभेनी 

फियाट क्रेस्लर अटोमोबाइलले सीईएसमा यस्तो कार प्रस्तुत गरेको छ, जसलाई ग्राहकले आफूले चाहेको रूप रङ दिन सक्छ ।   

फियाट क्रेस्टरले यो मोडलको कार सादा रूपमा आउँछ र पछि ग्राहकले आफ्नो रुचि अनुरूपको आवरणमा फेरबदल गर्न सक्छन् ।   

हाल पूरै बदल्न नसके पनि ग्राहकले कारको रङलाई चार विभिन्न बडी र्‍यापर र त्यस्तै चार अलग रङका बम्पर तथा छानो दिएर रूप फेर्न सक्छ ।   

सोनीको अत्याधुनिक कार 

सोनी मुख्यतः कार कम्पनी होइन तर उसले पनि यो सीईएस मेलामा कारको ‘नमुना’ सार्वजनिक गरेको छ ।   

बाहिरबाट हेर्दा परम्परागत कारजस्तो देखिने यो कारभित्र सोनीका क्यामेरा, दूरसञ्चार र सेन्सर प्रविधि जडान भएको छ ।   

यो कार विद्युतीय पनि हो । भावि कारको परिकल्पनाको रूपमाम प्रस्तुत यो कार कहिले बजारमा आउँछ सोनीले स्पष्ट गरेको छैन ।   

एलेक्साजडित ल्याम्बोर्घिनी 

यो वर्षको प्रारम्भमा बजारमा आउने नयाँ ल्याम्बोर्घिनी हुरक्यानले अमेजन एलेक्साको अहिलेसम्मकै सबैभन्दा व्यापक समायोजन ल्याएको छ ।   

कारमा जडित एलेक्सामार्फत चालकले दिशा हेर्ने, सङ्गीत सुन्ने र ग्यारेजको ढोका खोल्ने र सिटको हिटर चलाउने र आन्तरिक प्रकाश मिलाउन सक्छ ।   

भावि दिनमा थप क्षमता थप्नका लागि अमेजनसँग काम गरिरहेको ल्याम्बोर्घिनीले बताएको छ । एलेक्सा आवाज नियन्त्रणले अहिले नै कारको वाहनसम्बन्धी काम गर्ने छैन । तर सुरक्षा परीक्षणपछि त्यस्तो अवस्था आउने कम्पनीले बताएको छ । 

टोयोटाले स्वचालित कार परीक्षण गर्न ‘सहर’ बनाउने   

टोयोटाले जापानमा दुई हजार मानिसको एक ‘परीक्षण सहर’ बनाउनेछ । त्यस सहरमा उसले स्वचालित कार र मानिसलाई सघाउने रोबर्टजस्ता नयाँ प्रविधिको परीक्षण गर्नेछ ।   

‘वुभन सिटी’ नामक सहर जापानको फुजी हिमाल नजिकको पूर्वटोयोटा उद्योग रहेको १७५ एकड क्षेत्रमा बन्नेछ ।   

सम्पूर्ण सहर नै प्रयोगशालाको रूपमा रहने उक्त स्थानका सुरुवाती बासिन्दा टोयोटाका वर्तमान र अवकाश प्राप्त कर्मचारी हुनेछन् । त्यस अतिरिक्त त्यहाँ अनुसन्धानदाता पनि हुनेछन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *