रहस्यमय चिनियाँ भाइरसको सङ्क्रमण दक्षिण कोरियासम्म

माघ ६, काठमाडौं । चिनियाँ निकायहरू एउटा रहस्यमय भाइरसका कारण दुई दिनमा १३९ वटा नयाँ सङ्क्रमणका घटनाहरू प्रकाशमा आएको विवरणहरूमा जनाइएको छ। यो सँगै पहिलो पटक उक्त भाइरस चीनमा वुहानभन्दा बाहिर फैलिएको प्रमाणित भएको छ। बेइजिङ र सेन्जेनमा पनि उक्त भाइरसको सङ्क्रमण देखिएको छन्। 

दक्षिण कोरियामा समेत सोमवार कोरोनाभाइरससँग जोडिएको सङ्क्रमण देखा परेको थियो। जापान र थाइल्याण्डमा पनि सङ्क्रमण भएका छन्। 

सङ्क्रमण 

चीन

अहिलेसम्म पुष्टि भएका सङ्क्रमणको सङ्ख्या २०० नाघेको छ र श्वासप्रश्वाससँग जोडिएका सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरूले वुहानमा शुरूमा गएको डिसेम्बर महिनामा देखिएको यो सङ्क्रमणमा कोरोनाभाइरस देखिएको उल्लेख गरेका छन्। 

वैज्ञानिकहरूले उक्त भाइरसबाट निमोनियाको सङ्क्रमण देखिने भन्दै धेरै सङ्क्रमण अझै थाहा हुन नसकेको हुनसक्ने बताएका छन्। 

युकेमा रहेका विज्ञहरूले संङक्रमितहरूको सङ्ख्या सार्वजनिक गरिएका विवरणभन्दा ठूलो हुनसक्ने जनाएका छन्। उनीहरूले त्यो संख्या १,७०० आसपास रहेको उल्लेख गरेका छन् । 

यसै हप्ताको चिनियाँ नयाँ वर्षका अवसरमा लाखौं व्यक्तिहरू आफ्ना परिवारलाई भेट्न आवतजावत गर्ने क्रममा अनुगमनमा कडाइ गर्ने चीनले वाचा गरेको थिए। 

को सङ्क्रमित भएका छन् ? 

वुहानका अधिकारीहरूले १३६ वटा सङक्रमणका नयाँ घटना पुष्टि भएको र थप एक जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका थिए। आइतवार अबेरसम्ममा गम्भीर अवस्थामा रहेका नौसहित १७० जनाको वुहानमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। 

वुहानको भ्रमण गरी फर्किएका दुई जनाको बेइजिङस्थित एउटा जिल्ला अस्पतालमा निमोनियाको उपचार भइरहेको जनाइएको छ। 

उक्त भाइरसको सङ्क्रमण अन्य देशसम्म पनि पुग्न थालेको छ। थाइल्याण्ड र जापानमा देखा परेको सङ्क्रमणमा वुहानको यात्राबाट फर्किएका मानिसहरूसँग जोडिएको छ। 

सोमबार दक्षिण कोरियाले उक्त भाइरसको सङक्रमण आफ्नो देशमा पनि फेला परेको बताएको छ। 

ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण स्थानीय अस्पतालमा भर्ना भएकी एक ३५ वर्षीया महिला वुहानबाट फर्किएकी थिइन र उनको उपचार भइरहेको छ। 

अधिकारीहरू के भन्छन् ? 

चीनको राष्ट्रिय स्वास्थ्य निकायले उक्त भाइरसलाई अझै पनि रोकथाम र नियन्त्रण गर्न सकिने अवस्था रहेको जनाएको छ। उक्त निकायले भाइरसको श्रोत, फैलावट र डीएनएमा देखिएका परिवर्तनका विधि अझै अस्पष्ट रहेको उल्लेख गरेको छ। 

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनावरबाट उक्त भाइरस उत्पत्ति भएको हुनसक्ने उल्लेख गर्दै केही मानवमा सो सङ्क्रमण फैलिएको जनाएको छ। थप अध्ययनपछि मात्रै उक्त सङ्क्रमण फैलनुको कारण प्रष्ट हुने उसको भनाइ छ। 

कोरोनाभाइरसको जोखिम कम गर्न असुरक्षित जनावरहरूसँग सम्पर्क नराख्ने, मासु र अण्डालाई पूरा पकाएरमात्रै खानुपर्ने र रुघाखोकीको सङ्केत देखिएका बिरामीसँग नजिकै नबस्न सुझाव दिइएको छ। 

यो भाइरस के हो ? 

बिरामीबाट सङ्कलन गरिएको र चीन तथा डब्लुएचओका प्रयोगशालामा परीक्षण गरीएका नमुनाहरूले कोरोनाभाइरसले सङ्क्रमण निम्त्याएको प्रमाणित गरेका छन्। कोरोनाभाइरस भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो। योसँगै मानवलाई सङ्क्रमित गर्ने भाइरसको सङ्ख्या सात पुगेको छ। 

कोरोनाभाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ तर श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमण सार्स पनि कोरोनाभाइरसले नै निम्त्याएको थियो। 

सन् २००२ मा चीनमा सार्सले ७७४ जनाको ज्यान लिएको थियो भने ८,०९८ जनालाई संङक्रमित गरेको थियो। वुहानमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा नदेखिएको भाइरस हो। 

यसको अनुवंशिक अध्ययनले नयाँ भाइरस सार्ससँग निकट रहेको देखाउँछ। कोरोनाभाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै अन्य कोरोनाभाइरस जनावरमा देखिए पनि तिनले मानिसलाई सङ्क्रमित बनाएका छैनन्। 

बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *