लेबनानमा काल्लोस गोउनलाई पक्राउ गर्न इन्टरपोलको पत्र

पुस १८, लेबनान । लेबनानको न्यायालयले जापानी प्रसिद्ध कार कम्पनी निस्सानका पूर्व प्रमुख काल्लोस गोउनलाई पक्राउका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) द्वारा पठाएको ‘रेड नोटिस’ (सूचना) लाई बिहीबार बुझेको लेबनानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ । 

गोउनलाई जापानको अदालतले केही महिना पहिले उनको जापानस्थित घरमा नै राख्नसक्ने गरी धरौटीमा रिहा गरिएको थियो । गोउनमाथि निस्सानमा रहँदा लागेको आर्थिक अपचलनसम्बन्धी मुद्दा जापानी अदालतमा सुनुवाई कै क्रममा रहेको छ । 

निस्सानका पूर्व प्रमुख गोउन जापानबाट टर्की हुँदै सोमबार लेबनान पुगेका थिए । उनको लेवनान, ब्राजिलका साथै फ्रान्सको नागरिकता रहेको छ । आफ्नो बाल्यकाल लेबनानमा विताएका प्रसिद्ध कार निर्माण कम्पनीका पूर्व प्रमुख गोउनको ब्राजिल तथा फ्रान्समा पनि घर रहेको छ । 

लेबनान र जापानबीच सुपुर्दगी सन्धि नभएका कारण जापानी गोउनलाई जापान पठाउन कानूनी कठिनाई रहेको लेबनानी न्यायालय स्रोतले मङ्गलबार बताएको थियो । 

‘लेबनान र जापानबीच सुपुर्दगी सन्धि भएको छैन,’ लेवनानको न्यायालय स्रोतले एएफपीलाई बताए । लेबनानी विदेश मन्त्रालयले जापानबाट लेबनानलाई गोउनका सम्बन्धमा अहिलेसम्म कुनै पत्राचार वा माग नआएको बताएको थियो । 

गोउनलाई सन् २०१८ को अन्त्यतिर अवैध रूपमा सम्पत्ति लुकाएको भन्दै छानविनका लागि पक्राउ गरिएको थियो । तर पछि धरौटीमा रिहा गर्न जापानी अदालतले आदेश गरेपछि रिहा भै जापानमा नै बस्दै आएका थिए । गोउनले आफूमाथि लगाइएका आरोपलाई निरन्तर खण्डन गर्दै आएका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *