कङ्गोको आक्रमणमा २४ सर्वसाधारण मारिए

माघ १७, बेनी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् ।   

अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ठ प्रशासक डोनाट किबवानाले जानकारी दिए । यद्यपी कङ्गो अनुसन्धान समूह र मानव अधिकार वाचको संयुक्त विज्ञप्तिमा उक्त आक्रमणमा १९ जनाको ज्यान गएको उल्लेख छ ।   

कङ्गोको सेनाले एडिएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ । छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडिएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ ।   

Image result for कङ्गोको आक्रमणमा २४ सर्वसाधारण मारिए

कङ्गो र यसका छिमेकी मुलुकमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ ।   

बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडिएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले शुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।   

सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न मुलुकका नागरिक भर्ती भएको अनुमान छ ।   

संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकू मात्र रहेको बताएका छन् । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *