‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल

माघ १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुने भएको छ । 

राष्ट्रियसभागृहमा हिजोबाट शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको छ। 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका छन् । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

हिजो सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन । 

समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरिएकोमा उक्त समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ । 

कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ । डेढ वर्षपछि बसेको नेकपाको केन्द्रीय कमिटि बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।  

खासगरी नेकपा एमाले र माओवादी केन्द्रविचको एकता पछि बसेको यो दोस्रो पूर्ण बैठक भएकोले दुई पार्टी भित्रका देखाएका मतान्तरलाई मिलाएर अगाडी बढ्न र २०७७ सालमा एकताको महाधिवेशन गराउन महत्वपूर्ण रहेको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =