दिल्ली स्थित जेएनयू विश्वविद्यालयमा नकावधारीले आक्रमण गर्दा दर्जनौ विद्यार्थी र शिक्षक घाइते

एजेन्सी, भारत । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नकावधारीहरुले आक्रमण गर्दा दर्जनौ विद्यार्थी र शिक्षकहरु घाइते भएका छन् । आइतबार भएको आक्रमणमा परेर (जेएनयू) विद्यार्थी संघका अध्यक्ष ऐशी घोष लगायत थुप्रै विद्यार्थीहरु घाइते भएका छन् । आक्रमणकारीहरूले विश्वविद्यालयभित्रका थुप्रै होस्टलहरुमा आक्रमण गरेका छन् । 

एक्कासि ५० जनाभन्दा भन्दा बढी मानिसहरु जेएनयू क्याम्पसमा छिरेर आक्रमण गरेको प्रतक्ष्यदर्शीहरुले बताएका छन् । आक्रमणकारीहरुले पोल र लाठी बोकेर आएका थिए । उनीहरू अधिकांशले अनुहारमा कपडाले बेरेका थिए । क्याम्पसमा प्रवेश गर्ने बित्तिकै विद्यार्थीहरूलाई आक्रमण गरेका थिए । आक्रमण भएलगत्तै दिल्ली सरकारले घाइते विद्यार्थीहरुको उद्धारका लागि जेएनयूमा सातवटा एम्बुलेन्स पठाएका थियो । दिल्ली पुलिसले जेएनयूको मूल ढोकामा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको बीबीसीले जनाएको छ । 

सो घटना भएलगत्तै जेएनयुकै विद्यार्थीहरूको एउटा समूहले दिल्ली पुलिस हेडक्वार्टर घेराउ गरेका छन् । यद्यपि अहिले क्याम्पसभित्रको अवस्था नियन्त्रणमा आइसकेको समाचार एजेन्सी पीटीआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै भनेको छ । घटना भएलगत्तै मानव संसाधन मन्त्रालयले जेएनयू रजिस्ट्रारलाई क्याम्पसको स्थितिको बारेमा तुरुन्त रिपोर्ट मागेको थियो ।   

घटना भएलगत्तै गृहमन्त्री अमित शाहले आवश्यक कार्वाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री शाहले जेएनयू हिंसाको बारेमा दिल्ली पुलिस कमिश्नरसँग कुरा गरेका छन् र आवश्यक कारबाही गर्न निर्देशन दिएका छन् । 

त्यस्तै विदेशमन्त्री एस जयशंकरले पनि विश्विद्यालयभित्र भएको घटनाको भर्त्सना गरेका छन् । ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले भनेका छन् ‘जेएनयू घटनामा भएका तस्बिरहरु हेरेँ । म स्पष्ट रुपमा यो हिंसाको भर्त्सना गर्दछु । यो पूर्णतया विश्वविद्यालयको संस्कृति र परम्परा बिरूद्ध हो ।’  एस जयशंकर पनि जेएनयूका पूर्व छात्र हुन् ।   

काँग्रेस नेता राहुल गान्धीले पनि घटनाको भर्त्सना गरेका छन् । ‘जेएनयूमा नकाबधारी आक्रमणकारीहरूबाट विद्यार्थी र शिक्षकहरूमाथि भएको  कुटपिटबाट मलाई स्तब्ध बनाएको छ । सत्तामा रहेका फासिस्टहरू बहादुर विद्यार्थीहरूदेखि डराएका छन् । आजको हिंसा उनीहरूको डरको प्रतिबिम्ब हो ।’ गान्धीले ट्विटमा भनेका छन् । 

भाकपा (मार्क्सवादी)का नेता सीताराम येचुरीले पनि घटनाको भर्त्सना गरेका छन् । विद्यार्थी संघका अध्यक्ष ऐशी घोषले घाइते अवस्थामा बोल्दै गरेको भिडियोमा ट्वीट गर्दै उनले भनेका छन्, ‘यस भिडियोले देखाउँदछ कि आरएसएस र भाजपाले यस देशलाई के बनाउँदैछ । तर हामी तिनीहरूलाई त्यसो गर्न दिदैनौं ।’ 

समाचार एजेन्सी एएनआईले आक्रमणकारीहरूको भिडियो सार्वजनिक गरेको थियो । जेएनयू विद्यार्थी युनियनका अध्यक्ष ऐशी घोषले घाइते अवस्थामा बोल्दै गरेको सो भिडियो सोशल मीडियामा भाइरल भैरहेको छ ।   

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि यस आक्रमणको भर्त्सना गरेका छन् भने दिल्लीका उपराज्यपाल अनिल बैजलले पनि क्याम्पस भित्र भएको हिंसाको निन्दा गरेका छन् । उत्तर प्रदेशका पूर्व मुख्यमंत्री अखिलेश यादवले पनि घटनाको भर्त्सना गरेका छन् ।   

घटनामा सख्त घाइते भएर टाउकोमा चोट लागेका १८ जनालाई दिल्लीकै एम्स ट्रमा सेन्टरमा भर्ना गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । कांग्रेस नेतृ प्रियंका गान्धीले ट्रमा सेन्टरमा पुगेर घाइतेलाई भेटेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *