बिहेको अघिल्लो रात बेहुला प्रहरीको खोरमा


मंसिर २९, काठमाडौं । विराटनगर रानी स्थित इलाका प्रहरी कार्यालयले गए राती एक युवकलाई २१ सेट टिटि लागू औषध सहित पक्राउ गर्यो ।
सिआइवीको टोलीले पक्राउ गरेका कमल धमला नामक ती युवक हुनेवाला बेहुला परेछन् । विहेको मुखैमा बेहुला लागूऔषध सहित समातिए पछि बेहुला पक्षलाई हुनसम्मको पीर पर्यो । रातारात धरानबाट विराटनगर रानी आइपुगेका बेहुला पक्षले प्रहरीलाई अनेकन प्रलोभन देखाए । जन्ती र बेहुलाको लुगा सहित आएपछि प्रहरीले भोली बिहानै सात बजे हाजिर हुने शर्तमा छोडेको छ ।
स्रोतले दिएको जानकारी अनुसार भने बेहुला पक्षले इलाका प्रहरी कार्यालय रानीका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर छुटाएर लगेका हुन् ।
यो विषयमा इप्रका रानीका मुद्दा फाँटका एक सईले पनि गए राती नै कमल धमला पक्षका एक परियार थरका युवकले ‘हामी जे गर्नपनि तयार छौं, विहेको लागि छाडिदिनुस’ भनेको बताए । ‘उसलाई छाडिएको छैन, तर विहेको जन्ती नै आएकोले माथीबाट छाड्ने आदेश आए छाड्न मिल्छ नत्र मिल्दैन भनेर पठायौं ।’ ती सईले मकालु खबरसँग भने ।
‘५–७ लाख खाएर छाडिएको भन्ने हल्ला आयो त ?’ मकालु खबरको प्रश्नमा ती सईले ‘केटाको जायजेथा नै ५–७ लाखको रहेनछ कसरी दिन्छ र ?’ भन्दै प्रश्न गरे ।
अहिले ती बेहुलालाई भोली विहान ७ बजे हाजिर हुने शर्तमा प्रहरीले छाडिदिएको छ । उनको धनकुटा चानुवाकी केटीसँग बैवाहिक कार्यक्रम छ ।
प्रदेश १ को राजधानी विराटनगर स्थित भारतीय सिमा क्षेत्र जोगवनी लागूऔषधको अखडा हो । धरान, इटहरी लगायत पूर्वका विभिन्न ठूला शहरमा यही क्षेत्रबाट लागू औषध कारोबार हुने गरेपनि प्रहरीले नियन्त्रणका लागि खासै सक्रियता देखाइरहेको छैन ।
