खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्य ग्रहण सुरु, कसरी हेर्ने ?

पुस १०, काठमाडौं । खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्य ग्रहण सुरु भएको छ ।  नेपाली समयानुसार ८ः४२ मा स्पर्श भएको हो । १०ः१ मा मध्ये हुने र ११ः३१ मा मोक्ष हुनेछ ।  

ग्रहणको समय के गर्नु हुँदैन ? यसको लाभ कसरी लिन सकिन्छ ? 

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् हिजो (पुस ९ गते) राति ८ः४२ सुतक समय थियो । सुतक समयदेखि नै बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गर्नुपर्छ ।   

किनकी सूर्य ग्रहणका समयमा पृथ्वीमा विभिन्न खालका विकिरणहरु फैलिरहेका हुन्छन् । जुन हाम्रो मानव शरीर लगायत खानेकुराहरुमा चाँडै स्पर्श भइहाल्छ र अशुद्ध बनाइदिन्छ । खानेकुरामा नकारात्मक ऊर्जा भरिन्छ । जसले हाम्रो शरीर पनि नकारात्मक ऊर्जाद्वारा विचलित हुन सक्छ । 

ग्रहण समयमा महत्वपूर्ण कामक्रिया पनि गर्नु हुँदैन । सो अवधिमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गरी ग्रहणको लाभ लिन सकिन्छ । मानसिक, शारीरिक र आर्थिक रुपमा निमुखा प्राणीहरु जनावर, चराचुरुंगी लगायत जति पनि प्राणीहरु हुन्छन्, उनीहरुको सेवा गरी धर्म कमाउन सकिन्छ । पितृका लागि तर्पण, पिण्डदान, शुभ तथा धार्मिक कार्यहरु भने गर्नु हुँदैन ।   

सकेसम्म ग्रहण काल अवधिमा हामीले ठुला नदी, तलाउ, तीर्थस्थल, समुद्र आदीमा गएर नुहाउँदा राम्रो हुन्छ । त्यो सम्भव नभएमा घरैमा पनि नुहाउँदा हुन्छ । शास्त्रले बताए अनुसार ३ चोटी नुहाउनुपर्छ । स्पर्श, मध्य र मोक्षको समयमा । जे, जति सकिन्छ, देश, काल परिस्थिति अनुसार गर्नुपर्छ ।  

सूर्य ग्रहणलाई कसरी हेर्ने ? 

सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नु हुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै एक्स-रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नु हुँदैन । 

हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चश्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ, साधारण चश्माबाट यसको अवलोकन गर्नु हुादैन । सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावबारे भने हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको खगोलविदहरु बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *