मेची-महाकाली रेलवे आयोजनाअन्तर्गत पूर्वका ३ जिल्लाको डिजाइन तयार, कुल लागत ९० अर्ब

मंसिर ३०, विराटनगर। रेल विभागले मेची–महाकाली रेलवे आयोजनाअन्तर्गत इनरुवा–काँकडभिट्टा खण्ड र इटहरी-विराटनगर लिङ्कको निर्माणका लागि डिजाइन तथा विस्तृत प्रतिवेदन तयार पारेको छ ।
प्रतिवेदनअनुसार इनरुवा-काँकडभिट्टा खण्ड १ सय ६ दशमलव ५९ र इटहरी-विराटनगर लिङ्क २० दशमलव १६ किलोमिटरको हुनेछ । आयोजनाको कुल अनुमानित खर्च ९० अर्ब हुनेछ ।
प्रस्तावित रेल परियोजना नेपालको प्रदेश नम्बर १ तराईको पूर्व भागको सुनसरी, मोरङ र झापा गरी तीन जिल्लामा पर्छ । परियोजनाको आरम्भ विन्दु सुनसरी जिल्लाको पूर्व पश्चिम राजमार्गको दक्षिणी भागपट्टिको इनरुवा वस्तीनजिक पर्छ । अन्तिम विन्दु काँकडभिट्टा स्टेसन महेन्द्र राजमार्गको १ किलो मिटर दक्षिण र मेची नदीको २ किलोमिटर पश्चिममा पर्छ ।
null
पूर्व–पश्चिम महेन्द्र राजमार्गको लगभग २ दशमलव ५ किलोमिटर दक्षिणमा समानान्तर हुने गरी यस रेल मार्गको प्रस्ताव गरिएको छ । रेलमार्गको चौडाइ साढे सात मिटर र क्षेत्राधिकार ५० मिटर हुनेछ ।
उक्त परिकल्पना बमोजिम विराटनगरमा आईतबार एक कार्यक्रमको आयोजना गरी ईनरुवा काँकडभिट्टा खण्ड र ईटहरी विराटनगर खण्डमा रेलवे लिङबाट पर्न जाने वातावरणीय प्रभाव मुल्याङकन सम्बन्धी सार्वजनिक सुनुवाई आयोजना भएको छ ।
विराटनगरस्थित मोरङ व्यापार संघमा आयोजित उक्त कार्यक्रममा परामर्शदाताको तर्फबाट रिकेश चित्रकार र अभिषेक बि सिले रेलमार्ग निर्माणको कारण अवस्था साथै राज्यले लिने फाईदा साथै वातावरणीय प्रभाव पर्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।








