भक्तपुरमा १६ उम्मेदवारको जमानत जफत

मंसिर १५, काठमाडौं । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा कंग्रेस निर्वाचित भएसंगै १६ उम्मेदवारको जमानत जफत भएको छ । कुल खसेको सदर मतको १० प्रतिशत पनि उम्मेदवारले मत नल्याएपछि १६ उम्मेदवारको जमानत जफत भएको हो । भक्तपुर–१ (क) मा कुल ३२ हजार ३७ मत खसेको भए पनि ३१ हजार ५९२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत ३ हजार १६० हुन्छ ।
प्रदेशसभा अन्तर्गत भक्तपुर–१ (क) मा नेपाली काँग्रेसका कृष्णलाल भडेल १३ हजार ४४१ मत ल्याएर विजयी भएका छन् भने, उनका निकटतम प्रतिश्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालले ११ हजार २०६ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसान पार्टीका निरज लवजूले ५ हजार ८२९ मत हासिल गरे ।
उक्त सिटमा १९ जनाले उम्मेदवारी दिएकोमा अन्य १६ उम्मेदवारको जमानत भने जफत भएको छ । जमानत जफल हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामप्रसाद नेपाल (५७४ मत), साझा पार्टीका सुरज प्रधान (३९३ मत), नेपाल कम्युनिस्ट पार्टी (माले)का सुदर्शन लामिछाने (३७ मत) छन् ।
null
यसैगरी समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मी (३२ मत), संघीय लोकतान्त्रिक मञ्चका मिङमार लामा (५ मत) र नेपाली कांग्रेस (बीपी) का मधुसुदन न्यौपाने (२ मत)को पनि जमानत जफत भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु राकेश सुवाल, सुमना कार्की, अर्जुन कोजु, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, संगीता पौडेल आचार्य र सुजाता देउजाको पनि जमानत जफत भएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार देउजाको सबैभन्दा कम मत आएको छ । उनले १ मतमात्र हासिल गरेकी छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा सदर भएको कुल मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन ।








