कोहलपुर घटनाः नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

मंसिर २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोहलपुर घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।   

आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतीको विरोध गर्दै नेविसंघले सोमबार बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।   

शान्ति सुरक्षामा सरकार चुकेको र स्कुलले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोलि बर्षाउँदा पनि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री मुकदर्शक बनेको नेविसंघको आरोप छ ।   

काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पस अगाडि पुत्ला जलाउन जम्मा भएका नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले नालायक सरकार मुर्दावाद, प्रहरी दमन बन्द गर, स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने प्रहरीलाई बर्खास्त गर, स्कुलले बालिकाको खुट्टामा ट्रक गुडाउने ट्रक चालकलाई कार्वाही गर लगायतका नारा लगाएको नेविसंघ आरआर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिए।   

नेपालको प्रहरी प्रशासन सत्ताको दास बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दुःख दिएको सचिव शाहको आरोप छ ।   

आइतबार बिहान ना ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् ।   

आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रक जलाएका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि  बाँकेको कोहलपुर प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको छ ।   

कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =