विवेक हराएकाहरुबाट विद्यार्थीले के सिक्ने ?

पुस १३, काठमाडौं । गएको जेठ २० गते रोल्पाको रुन्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभुत प्रावि मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँमा बस्ने २५ वर्षीया शिक्षिका लक्ष्मी पुन पक्राउ परिन् ।   

आफ्नै विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षिका लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनले जेठ १२ गते सोही स्कुलमा अध्ययनरत १ देखि ८ कक्षा सम्मका १४ जना विद्यार्थीहरुलाई स्कुल ढिलो आएको भन्दै लठ्ठीले अन्धाधुन्ध कुटपिट गरेकी थिइन् ।   

उनको कुटपिटबाट १४ विद्यार्थी घाइते भए । ती मध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाकाे हात भाँच्चियो ।   

घटना पश्चात् प्रहरीले लक्ष्मी पुनलाई ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलायो । अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उनलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुन सक्ने कानूनविद्हरुको भनाइ थियो ।   

०००                ०००               ००० 

त्यस्तै साउन ७ गते पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठी पक्राउ परे । कसुर उही थियो, निर्दोष बालबालिकामाथि कुटपिट । कारण उही, विद्यालय ढिलो आएको ।   

शिक्षक त्रिपाठीले सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई साउन ५ गते कक्षा कोठाभित्रै कुटपिट गरेर घाइते बनाएको प्रहरी तथा अभिभावकको आरोप थियो ।   

०००                ०००               ००० 

साउनकै तेस्रो साता (२२ गते) ‘विद्यार्थी कुटपिट गर्ने तीन शिक्षक थुनामा’ भन्ने खबर आयो ।   

शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका कक्षा ९ का विद्यार्थी माधव कलौनीको गत असार १४ गते भारतमा उपचारका क्रममा मृत्यु भएपछि उनीहरु पक्राउ परेका थिए ।   

सोही सम्बन्धी मुद्दामा भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका शिक्षकहरु लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई जिल्ला अदालत कञ्चनपुरले थुनामा पठाएको हो ।   

विद्यालय बाहिर साथीभाईसँग झैझगडाको विषयलाई लिएर कुटपिट गरिएको परिवारको आरोप थियो ।  कुटपिटबाट मृतक कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँच्चिएको थियो ।   

०००                ०००               ००० 

शिक्षकको कुटपिटबाट चोट लागेका घटना मात्रै होइन, अभिभावक तथा शिक्षकले दिने मानसिक यातनाबाट सुसाइडका घटना समेत घटेका उदाहरण छन् ।   

गएको असार ७ गते ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्ने ११ वर्षीय समीर लुङवाले आमाबुवा नभएको मौका छोपी घरैमा पासो लगाएर सुसाइड गरे ।   

प्रहरीले उनको साथबाट फेला पारेको सुसाइड नोटमा लेखिएको थियो– ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैनन् । स्कुुलमा शिक्षकहरुले पनि मेरो कुरा बुझ्दैनन् । म बिरामी भएको कुरा पनि पत्याउँदैनन् । कक्षामा केटाहरूलाई पिट्ने, केटीहरूलाई नपिट्ने र घरमा पनि मलाई दाजु–भाउजूले हेला गर्नुहुन्छ ।’ 

२६ जेठमा धादिङको ज्वालामुखी गाउँपालिकाका १३ वर्षीय सुनील परियारले नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका थिए । ७ कक्षाका विद्यार्थी सुनीलको साथबाट फेला परेको सुसाइड नोटमा पनि बाबुआमाले माया नगरेकाले आत्महत्या गर्न लागेको उल्लेख थियो ।   

सुसाइड नोटमा भाइलाई सम्बोधन गर्दै लेखिएको थियो, ‘भाइ, तिमीलाई बाबुआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बाबुआमासँगै बस्नु, म मर्छु ।’ 

०००                ०००               ००० 

यी त केवल प्रतिनिधि घटना मात्रै हुन् । सरकारले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाउँदा समेत यी घटना घट्न छोडेका छैनन् ।   

धेरै छन् कलिला विद्यार्थीका सुसाइड नोट । शिक्षकको कुटाइबाट सख्त घाइते भएका पीडित विद्यार्थी र घटनाहरु पनि धेरै छन् । कति बाहिर आउँछन्, कति धम्काइमा गुपचुप हुन्छन् । त कति घटनामा प्रहरीले उजुरी नै लिन मान्दैनन्, विभिन्न दबाबका कारण ।   

विद्यार्थीको भविष्य उज्वल बनाउने जिम्मा पाएका शिक्षकले नै यसरी निर्घात कुटपिट गर्न थालेपछि ती विद्यार्थीको भविष्य कस्तो हुन्छ ? विवेक हराएकाहरुबाट विद्यार्थीले के सिक्ने ? कस्तो शिक्षा पाउँछन् ? उनीहरुको मानसिकतामा कस्तो असर गर्छ ? शिक्षक तथा अभिभावकको कुटपिट र मानसिक यातनाले विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने बाल मनोविद् विजया विजुक्छे बताउँछिन् ।   

‘कुटपिट भन्नाले शरीरमा देखिने चोटपटकलाई मात्र लिनु हुँदैन । मानसिक यातना पनि एक किसिमको कुटपिट नै हो । शब्दबाट पनि कुटपिट हुन्छ बच्चाहरुलाई । यसले आजका दिनमा मात्रै होइन, उसको विहावारी भएर बाल बच्चा भइसक्दा पछिको जिन्दगीलाई पनि यसले असर गर्छ’, उनी भन्छिन् ।   

अहिलेका बच्चा तथा विद्यार्थीहरु धेरै संवेदनशील हुने, सही गलत छुट्याउन सक्ने भएका कारण उनीहरुलाई अबुझको ट्याग लगाएर कुटपिट गर्नु गलत भएको उनको तर्क छ । अहिलेका जेनेरेशनका शिक्षकहरु नै अबुझ भएको उनको भनाइ छ ।   

बालबच्चाहरुलाई अरुसँग तुलना गर्ने, आमाबाबुको नाम लिएर गाली गर्ने, घरको संस्कारमाथि सवाल उठाउने लगायतका गतिविधिले बच्चाहरु खुलेर बोल्न नसक्ने उनले बताईन् ।   

‘पढ्ने बालबालिकालाई कुटपिट गरेमा उनीहरु खुलेर बोल्न सक्दैनन् । नजानेका कुरा पनि सोध्दैनन् । नजानेका कुरा सोध्दा कुटाई खाइन्छ, लाजमर्दो अवस्थामा पुर्याइन्छ भन्ने सोचको विकास हुन्छ र नजानेका कुराहरुको जिज्ञासा पनि मरेर जान्छ’, मनोविद् विजयाको भनाइ छ ।   

यस्ता घटनाले बालबालिकाहरु जहिल्यै पनि आफूलाई तल्लो स्तरको सम्झन पुग्छन् । आफूलाई केही पनि आउँदैन भन्ने मानसिकताको विकास हुन्मछ । उनीहरुको आत्मसम्मान गिर्छ । र यो एकपटक गिरिसकेपछि माथि उठ्नलाई धेरै गाह्रो हुन्छ । उनीहरु डिप्रेशनमा पुग्छन् । एन्जाइटी जस्ता रोगको शिकार हुन्छन् ।   

उसको हिम्मतै मर्छ । स्कुल जाने भनेको गाली सुन्न जाने हो भनेपछि त स्कुल जान मन पनि लाग्दैन । पढाइमा ध्यान जाँदैन । उसले सिक्न सक्दैन । स्मरण शक्तिमा ह्रास आउँछ । मानसिक रोगहरु बढ्ने खतरा पनि हुन्छ ।   

मानसिक तनाव बढ्दै जाँदा बच्चाहरुमा छारे रोगका लक्षणहरु देखिने सम्भावना हुन्छ । ‘हात खुट्टा नचल्ने, प्यारालाइसिस हुने, कानले नसुन्ने, शरीरहरु लुगलुग काम्ने । गलत बाटोमा हिँड्ने ललगायतका समस्या देखा पर्न सक्छ’– उनले सुनाईन् ।   

पछिल्लो समय १५–१६ वर्षका बच्चाहरुमा सेक्सका एडिक्सन पनि धेरै देखिएको र अभिभावकबाट आफूले भनेको जस्तो माया नपाउँदा अरुतिर आकर्षित हुने, अरुबाट माया खोज्ने उनको भनाइ छ ।   

उनीहरुमा सुसाइडको आइडियाहरु आउने, म बाँचेर के काम छ र ? मेरो कसैलाई मतलबै रहेनछ भन्ने सोचको विकास हुने हुन्छ । जब आत्माको सम्मान हुँदैन तब हत्या गरिने उनी बताउँछिन् ।   

‘उमेर अनुसार बुझ्ने, सोच्ने शक्तिको विकास हुने हो । अहिलेका जेनेरेशनका शिक्षकहरुको के सोच हुन्छ भने–मैँले बुझेको छु भने तिमीले पनि बुझ्नै पर्छ, जान्नै पर्छ । यसरी खुशी पार्न त कोही पनि जन्मिएको हुँदैन नि । स्कुलको नाम चम्काउनलाई बच्चाहरु जन्मिएका हुन् र ? विद्यालयहरुले यसरी नै बालबच्चालाई ट्रिट गरिरहेका छन्, त्यो एकदमै गलत हो’–उनी भन्छिन् ।   

कुनै कुनै बच्चाहरु अटेरी हुने, भनेको कुरा नमान्ने, उपद्रो गर्ने, कु–समयमा स्कुल छोडेर भाग्ने खालका पनि हुन्छन् । यी कुराहरु उनीहरुको मनमा कसरी उत्पन्न भए त ? पहिले त्यो बुझ्नुपर्छ । बच्चाहरु कसैको नजरमा नराम्रो हुन खोज्दैनन् । उनीहरुलाई तारिफै मात्र सुन्न मन लाग्छ । सबैले माया गरोस् भन्ने हुन्छ । गाली खान चाहँदैन । बच्चा आफैँले कुनै पनि बानी उत्पन्न गर्दैन, सबै सिक्दै जाने हो । 

तर परिस्थिति नै त्यस्तै बनिदिन्छ कि बदमासी बाहेक अर्को उपाय उसले देखेको हुँदैन । त्यो समयमा बच्चाले किन यस्तो व्यवहार गरिरहेको छ त ? उसको घरको आर्थिक अवस्था कस्तो छ ? घरको संस्कार कस्तो छ ? वातावरण कस्तो छ ? घरमा प्रयोग हुने बोली–व्यवहार कस्तो छ ? बच्चाले त्यही सिक्ने मनोविद् विजया भन्छिन् ।   

आज मात्रै होइन, स्कूल जीवन मात्रै होइन कि पछि पनि ऊ विहावारी भएर बाल बच्चा भइसक्दा पछिको जिन्दगीलाई पनि यसले असर गर्छ ।   

त्यस्ता विद्यार्थी तथा बालबच्चालाई अभिभावक तथा शिक्षकहले पिट्ने भन्दा पनि सम्झाउनु पर्छ । उनीहरुलाई भावनात्मक रुपमा सहयोग गर्नुपर्छ । पढ्ने वातावरण निकै सहज र रमाइलो भयो भने बच्चाहरुले छिटो सिक्ने उनको भनाइ छ ।   

०००                ०००               ००० 

शिक्षाविद् प्रा.डा. मन प्रसाद वाग्लेको भनाइ पनि उस्तै छ । ‘बालबालिकालाई कुट्न पाइँदैन । उनीहरु भविष्यका कर्णधार हुन् । उनीहरुको सुरक्षा गर्नुपर्छ । संरक्षण दिनुपर्छ । उनीहरुलाई सकारात्मक रुपमा अघि बढाउनुपर्छ । कुखुरा बनाउने, कुटपिट गर्ने, गाली गर्ने ती सम्पूर्ण कुरा नेपालकै ऐन विपरित छ’, उनले भने ।   

बालबालिकालाई कुटपिट गर्न पाइँदैन भनेर बालबालिका सम्बन्धि ऐन २०७५ मा उल्लेख गरिएको र कुटपिट गर्नेलाई कारवाही हुने उनले बताए ।   

‘बालबालिका सम्बन्धि ऐन २०७५ मा बालबालिकालाई कुट्नु अपराध हो भनिएको छ । त्यसकारण बालबालिकालाई कुटपिट गर्न, तर्साउन, विभिन्न किसिमको डर, त्रास दिएर उनीहरुको मनोविज्ञानमा असर पार्न पाइँदैन । त्यो अपराध हो’– प्रा.डा.वाग्लेले भने ।   

यस्तै उनले अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धीमा नेपालले हस्ताक्षर गरेर आएको स्मरण गर्दै त्यसको उल्लंघन गर्न नहुने पनि बताए ।   

‘बालबालिका सम्बन्धी ऐन २०७५ विरुद्ध कोही जान्छ भने उसलाई २५ हजारदेखि ७५ हजारसम्म जरिवानाको व्यवस्था छ । र ३ महिनादेखि ६ महिनासम्म कैद सजाय हुन्छ । कैद र जरिवाना दुवै हुन्छ’, उनले भने ।   

शिक्षक आचारसंहिता भित्र शिक्षकको नैतिकताको कुरा गरिएको र विद्यार्थीलाई कुट्न पाइँदैन भन्नु पनि शिक्षकको नैतिकता भएको उनले स्पष्ट पारे । बालबालिकालाई कुटियो भने मनोवैज्ञानिक रुपमा उनीहरु डराउने, डरै डरमा डिप्रेशनमा जाने र उनीहरुको भविष्य चौपट हुने वाग्ले बताउँछन् ।   

यसरी बालबालिकालाई कुटपिट गर्ने शिक्षकहरुलाई बालबालिका सम्बन्धी ऐन लगाएर उनीहरुलाई जरिवाना लगाउन र थुनामा राख्न सकियो भने विद्यार्थीहरुलाई कुटपिट गर्नु हुँदैन भन्ने जागरण विद्यालयहरुमा आउने उनको भनाइ छ ।   

०००                ०००               ००० 

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक वा अभिभावकविरुद्ध घटना तथा कुटपिटको प्रकृति हेरी सम्बन्धित ऐन अनुसार मुद्दा दर्ता गरेमा कारवाही हुने बताए ।   

‘पीडित विद्यार्थीले जाहेरी लिएर स्थानीय प्रहरी कार्यालय जानुपर्छ । जाहेरवालाको निवेदनका आधारमा कुटाइको प्रकृति हेरेर स्थानीय प्रहरीले मुद्दा लगाउँछ । सोही बमोजिम कारवाही हुन्छ’, प्रवक्ता थापाले भने, ‘कुटपिट मुद्दा, मरणासन्न हुने गरी कुटिएको छ भने ज्यान मार्ने उद्योगमा मुद्दा लाग्न सक्छ । कुटपिटबाट मृत्यु भएमा कर्तव्य ज्यान मुद्दा लाग्न सक्छ ।’ 

कसैलाई मानसिक यातना पनि दिन नपाइने र मानसिक यातना सम्बन्धमा पीडित विद्यार्थीले जाहेरी दिएमा यसमा पनि मुद्दा चल्ने प्रवक्ता थापाको भनाइ छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =