दुर्घटना न्यूनिकरणमा सबै जिम्मेवार हुनुपर्ने

पुष ६, चितवन । सवारी दुर्घटना बढ्दै गईरहेका बेला सरोकारवालाहरुले दुर्घटना न्युनिकरणमा सबै पक्ष जिम्मेवार हुनु पर्ने बताएका छन् । चितवनमा प्रत्येक दिन सवारी दुर्घटना भईरहेका छन् । दैनिक हुने दुर्घटनामा कतिपयले ज्यान गुमाईरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आईतवार जिल्लाको खैरहनीमा आयोजना गरेको सवारी चालक तथा जनसमुदायलाई ट्राफिक सचेतना कार्यक्रममा सरोकारवालाहरुले दुर्घटनामा ट्राफिक प्रहरी, चालक, सडक, सवारी लगायत सवै पक्षको कमजोरी हुने बताए । सबै पक्ष जिम्मेवार हुन सके दुर्घटना धेरै हद सम्म नियन्त्रण हुने खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले बताए ।
कागजपत्र नहुने चालकहरुले ट्राफिकको नजर छल्दा दुर्घटना भईरहेका छन् मेयर चौधरीले भने ‘अनुमति पत्र लिएर,सवारी चुस्त राखे ५० प्रतिशत दुर्घटना न्युनिकरण हुन्छ’ मेयर चौधरीले सडकको अवस्थाका कारण पनि दुर्घटना हुने भएकाले आफ्नो नगर भित्रको सडक प्रति नगरपालिका सचेत रहेको बताए ।

दुर्घटना न्यूनिकरणका लागि खैरहनी १ मा गत वर्ष ४ वटा सिसि क्यामेरा राखिएको भन्दै यो वर्ष खैरहनी ८ मा ५ वटा क्यामेरा राख्ने योजना रहेको मेयर चौधरीले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक निरीक्षक चन्द्र कुमार गिरीले चितवनमा अत्याधिक दुर्घटना भएको भन्दै ट्राफिकको लागि ट्राफिक नियम पालना गर्ने गर्दा दुर्घटना बढेको बताए ।
अटोमा क्षमता भन्दा बढि यात्रु राख्नु, मोटरसाईकलको गति तीव्र हुनु दुर्घटनाको कारक हो । केही दिन अघि राप्ती नगरपालिका ५ को चौकी डाँडामा अटो दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका थिए । नजिक चितवनमा अरु सवारीको तुलनामा मोटरसाईकल दुर्घटना धेरै छ । चालकसहित ४ जनाले मात्र अटोमा यात्रा गर्नु पर्ने ट्राफिक प्रमुख गिरीले बताए । अनुमति पत्र नभएका चालकले सवारी चलाए कारवाही गरिने भन्दै उनले कागजपत्र नभएकालाई साधन थन्काउन निर्देशन दिए ।
कार्यक्रममा खैरहनी नगरपालिका १ का वडाध्यक्ष भुमी प्रसाद कडेंल, मुक्तीनगर यातायात व्यवसायी समितिका अध्यक्ष लक्ष्मण भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक नायव निरीक्षक कृष्ण ठकुरीले सानो लापरवाहीले दुर्घटना बढ्दो रुपमा रहेको भन्दै यात्रा सुखद बनाउन सबै गम्भीर हुनु पर्ने बताए । कार्यक्रममा सहभागी अटो चालकहरु र स्थानीय क्लवका प्रतिनिधीहरुलाई ट्राफिक नायव निरीक्षक ठकुरीले दुर्घटना न्युनिकरणमा अपनाउन सकिने उपायकाबारे प्रशिक्षण दिएका थिए ।








