अध्ययनले भन्छ बिरामीकाे समयमा प्रिय व्यक्तीले समाए मात्र पनि पेनकिलर बराबर

पुष २ । आफ्नो प्रिय मान्छेले बिरामीको हात छुँदा मात्र पनि दुखाइ आधा कम हुन सक्ने पत्ता लगाएका छन् । ‘जर्नल अफ पेन’ मा प्रकाशित गरिएको इजरायलको युनिभर्सिटी अफ हइफाले गरेको अध्ययनपछि वैज्ञानिकहरूले हात समात्ने, संगै बस्ने गर्दा बिरामीमा पेनकिलर समान काम गर्ने गरेको निष्कर्ष निकालेका हुन् ।
उक्त अध्ययनका अनुसार विशेषगरी बिरामी भएका बेला मान्छे मान्छेबीच भावनात्मक स्पर्ष आदानप्रदान हुँदा दुखाइलाई धेरै कम गर्न सक्नुका साथै हानिकारक इन्फ्लामेसन घटाइ घाउ छिटै निको पार्नसमेत मद्दत पुर्याउने गर्छ । युनिभर्सिटी अफ कोलोराडो बोउल्डरका अर्का अनुसन्धानकर्ताहरूले बिरामीलाई कसरी छुँदा शरीरमा कुन किसिमले बदलाव आउँछ भन्नेसम्बन्धी थप जानकारीका लागि थप अनुसन्धान गरेको छ ।
उक्त अध्ययनमा प्रत्यक्ष रूपमा बिरामीहरूको भाइटल साइनलाई परीक्षण गरिएको थियो । २२ जना बिरामीको मुटुको धड्कन, स्वाप्रस्वास र दिमागका वेभहरूसमेत जाँच गरेपछि बिरामीका आफ्नो प्रिय मानिसले छुँदा, सँगै बस्दा वा हात समाउँदा भिन्दाभिन्दै बदलाव देखा परेको नेसनल एकेडेमी अफ साइन्सेसले प्रकाशित गरेको नतिजामा पाइएको छ ।

अझ विशेष रूपले हात समाउँदा बिरामीहरूको श्वासप्रश्वास, धड्कन र दिमागी गतिविधि नियमित अवस्थामा पुगेको पाइएको हो । शारीरिक बदलावले बिरामीमा असहजताको अनुभव हटाउन सक्ने हुनाले नै प्रिय मानिसले पेनकिलर समान काम गर्ने निष्कर्ष निकालेको हो । अस्पतालमा कोही भेट्न नआएका एक्ला बिरामीहरूलाई नकारात्मक असर बढी पर्ने गरेको र कुनै साथी वा आफूले माया गर्ने मान्छे भेट्न आएमा बिरामीको अवस्थामा धेरै सुधार आउने गरेको पाइएको छ । एजेन्सी








