घरमै पुगेर छोरीहरुको बिमा गरिदिने प्रदेश २ सरकारको निर्णय

पुस १०, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा बिहीबार बसेको बैठकले घर–घरमै पुगेर छोरीहरुको बिमा गरिदिने निर्णय गरेको छ ।
मुख्यमन्त्री कार्यालयमा बसेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको बैठकले माघ २ गतेदेखि आठ वटै जिल्लामा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी अभावका कारण फलदायी बन्न नसकेपछि आगामी माघ महिनादेखि शिविर नै सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रदेश २ सरकारले २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागि बिमा गर्ने घोषणा गरेको थियो । शिविर सञ्चालन गरेर एक वर्ष यता जन्मेका सबै छोरीहरुको बिमा गरिने योजना प्रदेश सरकारले लिएको छ ।
शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधि वितरण समेत गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।- फाइल फाेटाे








