सिद्धबाबाविरुद्ध थुनछेक बहस : १० वर्ष जेल जालान् ?

पुष १३, सुनसरी । साधना प्राप्तीको नाममा काठमाडौंबाट चतरा पुगेकी एक अनुयायीलाई जबरजस्ती गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी अर्थात कृष्णदासलाई जेल पठाउने कि छाड्ने भन्नेमा आईतबार (आज) थुनछेक बहस सुरु भएको छ ।   

शुक्रबार जिल्ला अदालत सुनसरीमा गिरीको बयान सकिएकाले आइतबार थुनछेक बहस सुरु गरिएको हो । यदि उनी माथि लागेको अभियोग प्रमाणित भए उनलाई सात देखि १० बर्ष कैदको फैसला हुनेछ । 

अभियोग प्रमाणित नभए उनी छुट्न समेत सक्ने छन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ)अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म सजाय हुने व्यवस्था उल्लेख गरेको छ । 

आफूविरुद्ध बलात्कारको आरोपमा प्रहरीमा उजुरी पर्नासाथ ‘हर्ट अट्याक’ भएको भन्दै विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारका लागि भर्ना भएका उनलाई अस्पतालमा राखेर नै अनुसन्धान भएको थियो ।  

विराटनगरको एक निजी अस्पतालको सुविधा सम्पन्न कोठामा रहेका गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान लिइएको हो । 

कृष्णदासको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको १ नम्बर इजलासमा परेको छ । सरकारी वकिलमार्फत बिहीबार साँझ अदालतसमक्ष मिसिल बुझाएपछि कृष्णदासमाथिको अदालती प्रक्रिया शुरु भएको हो । 

सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीमाथि सजाय माग दाबी गरिएको छ । 

अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दफा २ ९९ क०, २ र ३ (ङ) बमोजिम सजाय गरी निज प्रतिवादीबाटै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूिर्त शुल्क निर्धारण गरी उक्त क्षतिपूर्तिबापतको रकम क्षतिपूर्ति शुल्क कोषमा जम्मा गरी पाऊँ भनी माग दाबीसमेत गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =