झारखण्ड विधानसभा : कांग्रेस गठबन्धनलाई बहुमत

पुष ८, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले पूर्वी राज्य झारखण्डमा भएको विधानसभा चुनावमा हार ब्यहोरेको छ। झारखण्ड विधानसभामा भारतीय नेसनल काँग्रेस, झारखण्ड मुक्ति मोर्चा (झामुमो) र राष्ट्रिय जनता दल (आरजेडी) सम्मिलित गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ।
गठबन्धनले ४७ स्थानमा जित हासिल गरेको छ । ८१ सदस्यीय विधानसभामा गठबन्धनले ४७ सिट जितेको हो। झारखण्ड भारतको राज्य बनेको १९ वर्षमा अधिकांश समय भारतीय जनता पार्टीले सत्ता सम्हालेको थियो। भाजपा भने २५ सीटमा समेटिएको छ।
सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र भाजपाका हार भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्। केन्द्रमा भारी बहुमत सहित सरकार चलाइरहेको भारतीय जनता पार्टी ९भाजपा० झारखण्डमा भने दोस्रो ठूलो दलमा सीमित भएको छ।

मुख्यमन्त्री पराजित
झारखण्डमा भाजपाको नेतृत्व गरिरहेका मुख्यमन्त्री रघुबर दास हारेका छन्। नरेन्द्र मोदी, अमित शाहलगायत केन्द्रीय नेताहरूको विश्वासपात्र मानिएका झारखण्डका मुख्यमन्त्री रघुबर दास आफैले चुनाव जित्न सकेनन्।
२००० नोभेम्बरमा झारखण्ड राज्य स्थापना भए यता पहिलो पटक पाँच वर्षे कार्यकाल पुरा गरेका निवर्तमान मुख्यमन्त्री रघुबर दासलाई स्वतन्त्र उम्मेदवार सरयु रोयले पराजित गरेका हुन्। निर्वाचन परिणाम आफ्नो पक्षमा आएपछि गठबन्धनले नयाँ सरकार गठनको तयारी सुरु गरिसकेको छ। झामुमो अध्यक्ष शिवु सोरेनको घरमा मंगलबार पार्टी विधायक दलको बैठक बोलाइएको छ।








