धरानमा नव निर्वाचित मेयर तिलक राईले सम्हाले कार्यभार

मंसिर १८, धरान । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर तिलक राईले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।
बिहान ११ बजे गणेशमान चौकस्थित गणेशमान सिंहको शालिक र हरियाली वन परिसरमा रहेको स्व. मेयर तारा सुब्बाको शालिकमा माल्र्यापण गर्दै राईले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले धरान उपमहानगरपालिकको करको विषयमा उठेका कुरालाई आगामी नगरपरिषद्मा लगी समायोजन गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसले यसअघि कर बढेको विरोधमा उपमहानगरपालिका घेराउ गरेको थियो ।
पदभार ग्रहण गर्दै मेयर राईले आफूले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र नगरवासीको एजेण्डा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा कुनै पक्ष र प्रतिपक्ष नहुने बताउँदै उनले दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने पनि प्रतिबद्धता जनाए ।
साथै उनले निष्ठा र इमान्दारीतापूर्ण काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।
मंसिर १४ गते भएकाे उपनिर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका थिए । नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।
काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका थिए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका थिए ।








