राजस्व छली गर्ने पेप्सीविरुद्ध १ अर्बको मुद्दा, ७ जनालाई ३ वर्ष कैदको माग

पुस ३, काठमाडौं । राजस्व अनुसन्धान विभागले नेपालमा पेप्सी उत्पादन गर्ने कम्पनी वरुण वेभरेजविरुद्ध १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँ मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले भुटा तथा नक्कली भ्याट बिलको प्रयोग गरी राजस्व चुहावटको अभियोगमा वरुण वेभरेजका पूर्व तथा वर्तमान सञ्चालक अमित गुप्तासहित ७ जनाविरुद्ध ६४ करोड ९६ लाख २ हजार ३ सय ४० तथा विगोको दोब्बर उक्त रकम मागदावी गर्दै बिहीबार मुद्दा दायर गरेको हो ।
वरुण वेभरेजले झुट्टा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँगको मिलेमतोमा वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजक खरिद गरी राजस्व ठगी गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

विभागले गरेको अनुसन्धानबाट यस कम्पनीले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा झुटा तथा मू.अ कर बिजकको कारोबारबाट मू.अ करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० र आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व छली गरेको देखिएको छ ।
राजस्व चुहावट नियन्त्रण ऐनको दफा २ छ(१) बमोजिम बिगो कायम गरी उक्त बिगो रकम सोही ऐनको दफा २३ बमोजिम प्रतिवादी बरुण वेभरेज (नेपाल) प्रालि, यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, बिनोलकुमार सिंह र अशोक कुवँरबाट असुल उपर गर्ने विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।








