नेकपा सचिवालय सदस्य व्यस्त, बैठक स्थगित

फाइल तस्विर
मंसिर २७, काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक स्थगित भएको छ ।
सचिवालय सदस्यहरुको कार्यव्यस्तताका कारण आज बस्ने तय भएको बैठक स्थगित भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यही मंसिर १४ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूची, उपनिर्वाचनको समीक्षा, बाँकी रहेका सांगठनिक कार्यलगायत एजेन्डामा छलफल गर्न शुक्रबार सचिवालय बैठक बस्ने तय भएको थियो ।
यद्यपी आज स्थगित भएको बैठक कहिले बस्ने हो भन्ने जानकारी दिइएको छैन ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सचिवालय बैठक र स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त छन् । सोही कारण सचिवालय बैठक सारिएको प्रचण्डको सचिवालयले जनाएको छ।
पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि दाहालले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको एक नेताले जानकारी दिए ।
दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासँगै आगामी कार्ययोजना सहित पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव छ।








