‘देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण, निजी क्षेत्रलाई निषेध गर्नु हुँदैन’

मंसिर २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षामा सामुदायिक विद्यालयलाई उकास्नुपर्ने बताएका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एक विद्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । निजी क्षेत्रलाई पनि राज्यले निषेध, दमन गर्न नहुने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘विगतको तुलनामा परिस्थिति बदलिसकेको छ । सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि निजी र सार्वजनिकको सन्तुलन स्वतः कायम हुन्छ । निजीलाई निषेध गर्नु आवश्यक नै छैन ।’

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् ।
आइतबार त्रिभुवन विश्वविद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं कीर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको शिलान्यासका क्रममा उनले यस्तो बताएका हुन् ।
देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो । यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सकिने जानकारी दिइएको छ ।








