नागरिकता संशोधन कानुनको विरोधमा प्रदर्शन गर्नेहरुको पोस्टर चोक–चोकमा

  

पुस ६, भारत ।  नयाँ दिल्ली । भारतमा नागरिकता कानुनको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । खासगरी विपक्षी दलले उक्त कानुनको विरोधमा भइरहेको प्रदर्शनको अगुवाइ गरेका छन् । 

प्रदर्शन हिंस्रक बन्दै प्रहरीमाथि हमला गर्ने प्रवृत्ति बढेपछि स्थानीय प्रशासनले प्रदर्शनकारीहरुको पोस्टर चोक–चोकमा टाँस्न थालेको छ । सार्वजनिक सूचनाको रुपमा त्यस्ता हुलदंगाकारीको तस्वीरसहित प्रहरीले ठूलो आकारको पोस्टर टाँस्न थालेको हो । 

उत्तर प्रदेशका केही क्षेत्रमा प्रहरीले आन्दोलनकारीको तस्वीरसहितका पोस्ट टाँस्ने अभियान सुरु गरेको छ । सार्वजनिक चोकमा टाँसिएका पोस्टरमा रहेका मानिस चिनेर उनीहरुको बारेमा जानकारी दिन पनि प्रहरीले अपिल गरेको छ । यस्तो जानकारी दिनेहरुको पहिचान गोप्य राखिने उल्लेख छ । 

उत्तर प्रदेशस्थित गाजियावादमा प्रहरीले गत शुक्रबार लोनी क्षेत्रमा भएको प्रदर्शनमा संलग्नहरुको तस्वीरसहित पोस्टर सार्वजनिक गरेको छ । फ्लेक्स बोर्डमा सबैले सहजै देख्ने गरी प्रहरीले तस्वीरसहितको अपिल टाँसेको हो । 

प्रहरीका अनुसार शुक्रबार भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा लोनी र लोनी बोर्डरमा तीन हजार दुई सयजना भन्दा बढीलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । 

यसैबीच सत्तारुढ भारतीय जनता पार्टीले देशभर भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै घर–घर पुगेर नयाँ कानुनका बारेमा सर्वसाधारणलाई जानकारी गराउने अभियान सञ्चालन गर्ने भएको छ । 

विपक्षी दलहरुको बहकाउमा परेर कानुनको बारेमा राम्रोसँग नबुझी प्रदर्शनमा कयौं सहभागी भएको ठहर गर्दै सो पार्टीले आगामी १० दिनमा एक हजारभन्दा बढी र्यालीसहित जनचेतना जगाउने अभियान सञ्चालन गर्ने भएको हो । अभियान अन्तर्गत देशभर तीन करोडभन्दा बढी परिवारसँग सम्पर्क गरिने सो पार्टीले जनाएको छ । 

बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, नयाँ दिल्ली लगायत देशका विभिन्न भागमा नागरिकता संशोधन कानुनको विरोधमा केही दिन यता प्रदर्शन उग्र बन्दै गएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =