हात्ती महोत्सवमा बीच भलिवल सुरु, आर्मीको बिजयी सुरुवात

पुष १३, चितवन ।  चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आईतवारदेखी राष्ट्रिय महिला बीच भलिवल प्रतियोगिता सुरु भएको छ । 

 प्रतियोगिताको उद्घाटन खेल जित्दै नेपाल आर्मीले बिजयी सुरुवात गरेको छ । राप्ती नदि किनारमा भएको खेलमा नेपाल आर्मीले शशस्त्र प्रहरी वलको टोलीलाई सोझो सेटमा पराजीत गर्यो । खेलमा आर्मी २१–२० र २१–१३ को सेटमा बिजयी भएको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए ।  

प्रतियोगितामा आर्मी, सशस्त्रसंगै नेपाल पुलिस क्लवका २,२ टोली गरि कुल ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्धितिय हुने टिमले नगद ३० हजार र तृतिय हुने टिमले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने बीच भलिवल प्रतियोगिताका संयोजक माधव दुवाडीले बताए । 

हात्ती महोत्सव अर्न्तगत आईतबारनै समुह बीको हात्ती फास्ट वाक भएको छ । सो खेलबाट ३ वटा हात्ती फाईनलमा प्रवेश गरेको छ । बी समुहबाट एकताकली प्रथम, लक्कीकली द्धितिय र वसन्तीकली तृतिय हुँदै फाईनलमा प्रवेश गरेका हुन् । 

समुह ए बाट ३ वटा हात्ती फाईनल प्रवेश गरिसकेका छन् । फाईनल १८ गते हुनेछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १६ औं संस्करणको हात्ती महोत्सव बाघमारा चौरमा पुष १० गते सुरु भएको हो ।  

महोत्सवमा हात्तीको फुटवल, हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती पेन्टिङ, हात्ती पिकनिक लगायतका गतिविधीहरु समावेश गरिएको छ । पर्यटन प्रर्वधन गर्ने उदेश्यले प्रत्येक वर्ष क्षेत्रीय होटल संघले हात्ती महोत्सव गर्दै आएको छ ।  

यस वर्ष प्रदेश सरकारले सौराहाबाट भ्रमण वर्ष घोषणा गर्न लागेकाले महोत्सवको समयावधि ४ दिन थप गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले बताए । महोत्सवको समापनका दिन अर्थात पुष १८ गते भ्रमण वर्ष घोषणा गरिने उनले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *