१६ औं ललित अम्बर डिपो फुटवल प्रतियोगिता हुने

मंसिर ४, धरान । यहि मंसिर ६ गते देखि १६ औं ललित अम्बर डिपो कप र लेट दिलकुमार प्लेट कप फुटवल प्रतियोगिता हुने भएको छ । डिपो उच्च माविको आयोजनामा हुने प्रतियोगितामा कक्षा ५ सम्मका खेलाडीहरुले सहभागिता जनाउन सक्छन् ।
प्रतियोगितामा धरानका १३ वटा नीजि विद्यालयहरुको सहभागिता रहने आयोजक डिपो उच्च माविले पत्रकार सम्मेलन गरी जानकारी दियो ।
प्रतियोगितमा धरानका इष्ट्रन एजुकेशनल एकेडेमी, नेपाल पुलिस स्कुल, मेरील्याण्ड स्कुल, विष्णु मेमोरीयल स्कुल, नवज्योति स्कुल, आइडियल इङ्लिस बोर्डिङ स्कुलको सहभागिता रहनेछ । यसैगरी धरान आदर्श, एक्वा डाईनाष्टी, इम्मानुएल स्कुल, युरेका स्कुल, होलि ल्याण्ड स्कुल र डिपो स्कुलका २ वटा समुहले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विद्यार्थी खेलाडी बालबालिकाहरुको उचाई बढिमा ४ फुट १० इञ्च र उमेर १२ बर्षमुनिको हुनुपर्ने विद्यालयका प्राचार्य राजकुमार राईले बताए ।
प्रतियोगिताको बिजेताले नगद १० हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, दोस्रो हुनेले नगद ५ हजार तेस्रो हुनेले नगद ३ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
समूहको प्रतिष्पर्धामा विजेता हुने टीमलाई लेट दिलकुमार प्लेटको उपाधिसँगै नगद ३ हजार सहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र दिइनेछ । उपबिजेताले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।








