भारत र चीनसँग सीमा समस्या समाधानको लागि कुटनीतिक पहल गरिनुपर्छः नेपाल रिपब्लिक पार्टी


कात्तिक २७, काठमाडौं । नेपालले आफ्नो भूमी रक्षाको लागि भारत र चीन दुवैसँग गम्भिर भएर तत्काल कुटनीतिक कदम चाल्नुपर्ने नेपाल रिपब्लिक पार्टीले माग गरेको छ ।
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पार्टीले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपाल सरकारले कुटनीतिक रुपमा सीमा विवादको समाधान गर्नुपर्ने बताएको हो । पार्टीका अध्यक्ष सिद्धार्थ गौतमले नेपालको सुदूर पश्चिमी भू–भाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित नक्शामा समावेश भएकोबारे आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए ।
उनले पार्टीले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्धिपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शिघ्रातिशीघ्र समाधान होस भन्ने जोडदार माग गरेको बताए । गौतमको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘पञ्चशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमी अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्दछ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनैपनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच सदियौंदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस र त्यस्तो विवादले विशेषगरि नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरु संवेदनशील हुनुपर्छ ।’ भनिएको छ ।
गौतमले भारतीय नक्शामा दशकौंदेखि कालापानी र लिपुलेक समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित भारतीय नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी उक्त मामिलालाई अनावश्यक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवृत्तिलाई आफ्नो पार्टीले सतर्कतापूर्वक अवलोकन गरिरहेको बताए ।
‘यसबारेमा यति लामो समयसम्म मौन धारण गर्नु र अहिलेमात्र यो मामिला उछाल्नुले यसको पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आंकलन छ ।’ उनले भने ।
उनले शान्त र गम्भिर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ दल नेकपा र उसका समर्थक पक्षहरुद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वता मात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल भएको पनि आरोप लगाए ।
उनले उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमी ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको तथ्यांक सार्वजनिक भएको सुनाए । विज्ञप्तीमा भनिएको छ,‘सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको छैन, यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुईंक्कसम्म नबोलेको घट्नाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्यपनि उजागर गरेको छ ।’
अध्यक्ष गौतमले चीनले आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको आरोप लगाए । ‘आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिकेको चीनले कालापानीको भू–भागमा भारतसँग सम्झौता गरेर त्यसको जानाकारीसम्म नेपाललाई नदिएको घट्नाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदांग भइसकेको हाम्रो पार्टीको ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।
यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकार्षण गर्दै तत्काल आवश्यक कदम चाल्न नेपाल रिपब्लिक पार्टी जोडदार आग्रह गरिएको छ । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने नेपाल रिपब्लिक पार्टीको निश्कर्ष छ ।
