सुपर भाईजरको तनाव आन्दोलनको जड, समाधानका लागि समिति गठन


कार्तिक २७, चितवन। चितवनको खैरहनी नगरपालिका ५ मा रहेको विस्कुट उत्पादन गर्ने खजुरीको नेपाल प्रालि आन्दोलित कर्मचारीको माग सम्वोधनका लागि समिति गठन गरिएको छ ।
खैरहनी नगरपालिकाको पहलमा बुधवार भएको सर्व पक्षिय वैठकले नगरपालिकाकी उपमेयर सुनिता थपलियाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले सुक्ष्म अध्ययन गरेर अर्को वैठकमा पेश गर्ने सहमती भएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए ।
बुधबारको वैठकमा आन्दोलित कर्मचारी र व्यवस्थापन पक्षको कुरा सुनेकाले त्यसको अध्ययन गरि प्रतिवेदन पेश गर्न भनिएको छ । अध्ययनका लागि ३० दिनको समय दिईएको छ । समितिको सदस्यहरुमा उद्योग वाणिज्य संघ खैरहनीका पूर्व अध्यक्ष केशवराज पाठक, चितवन उद्योग संघ खैरहनी ईकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, उद्योगका प्रतिनिधी, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, खैरहनी ५ का कार्यवहाक वडाध्यक्ष रामसिंह चौधरी,उद्योगका कर्मचारीहरु लक्ष्मी नारायण र सृजना अधिकारी रहेका छन् ।
बैठकमा बुधवारदेखिनै आन्दोलित स्थगीत गरि उद्योग संचालन गर्ने सहमती समेत भएको छ । बैठकमा उद्योगका कर्मचारीहरुको भनाई अनुसार तलवमा कुनै समस्या नरहेको तर उद्योगका सुपर भाईजरबाट अनाश्यक तनाव दिने काम भएको छ । तलवका विषयमा सामाजिक सुरक्षा कोष, संचय कोषमा जम्मा हुने रकमका बारे कर्मचारीहरुलाई वुझाउन नसकिएको र उनीहरुले पनि वुझ्न नसकेको पाईएको खैरहनीका मेयर चौधरीले बताए । कर्मचारीहरुलाई सुपर भाईजरले दिएको तनावका बारे उद्योगका महाप्रवन्धक सुर्य न्यौपानेले त्यसलाई सुुधार गर्ने प्रतिवद्धता जनाए । महिलाहरुनै सो उद्योगमा सुपर भाईजर छन् ।
