मन्त्रालय हेरफेरमा समाजवादीको आपत्ति, दिल्लीबाट फर्केका उपप्रधानमन्त्री पसेनन् मन्त्रालय

मंसिर ८, काठमाडौं । समाजवादी पार्टीले मन्त्रालय हेरफेरमा आपत्ति जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् ।
पुनर्गठनका क्रममा उपप्रधान तथा समाजवादीको अध्यक्ष समेत रहेका उपेन्द्र यादवको मन्त्रालय पनि हेरफेर भएको थियो। उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका थिए । सो समयमा उनी दिल्लीमा थिए ।

सोही विषयमा सत्ता साझेदार आफ्नो पार्टीलाई जानकारी नगराई मन्त्रिपरिषद् पुनर्गठन गरिएको भन्दैै समाजवादी पार्टीले आपत्ति जनाएको हो ।
शनिबार रातिसम्म बसेको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो।
पार्टीले उक्त निर्णयमा असन्तुष्टि जनाए पनि सरकार भने नछाड्ने निर्णय गरेको छ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णयबाट रुष्ट बनेका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव नयाँ मन्त्रालयमा पदबहाली नगरी पोखरा पुगेका छन् । पार्टीको कार्यक्रमका लागि उनी आइतवार बिहान पोखरा प्रस्थान गरेका हुन्।
कानुनबाट स्वास्थ्यमा सरुवा भएका मन्त्री भानुभक्त ढकालले बिहीवारै पदबहाली गरे। तर, शुक्रबार दिल्लीबाट फर्केका उपप्रधानमन्त्री यादवले अझै पदबहाली गरेका छैनन्।
पूर्वनिर्धारित चुनावी कार्यक्रम भएका कारण मन्त्री यादव पार्टीको कार्यक्रममा पोखरा लागेको उनका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। उनका अनुसार यादव सम्भवत भोलिबाट मन्त्रालय जानेछन् ।








