आबाल ब्रम्हचारी षडानन्दले राष्ट्रका लागि गरेको योगदानबारे चर्चा

मंसिर २, काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उनले राष्ट्रका लागि दिएको योगदानबारे एक कार्यक्रममा चर्चा गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा षडानन्दले राष्ट्रका लागि दिएको योगदानको चर्चा गरिएको हो ।
गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने बताए ।
उनले षडानन्दका सत्कर्म र योगदानबारे प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने योजनामा रहेको बताए । उपकुलपति डा.जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्नेमा जोड दिए ।
उनले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै षडानन्द सौर्यशक्तिको उपासक रहेको बताए । कार्यक्रममा प्रदेश १ का सांसद राजेन्द्र राई, षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा.चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्द र उनले समाजलाई दिएको योगदान र आ–आफू आबद्ध संस्थाले गरेका कार्यहरूका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रा.डा. कार्कीले धार्मिक तथा सांस्कृतिक क्रियाकलापमार्फत् समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि षडानन्दले गरेको पहलकदमीको उल्लेख गर्दै उनले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेलेको बताए । उनले भने, ‘संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीले गर्नुभएको थियो तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन ।’
अर्का कार्यपत्र प्रस्तोता चापागाईंले कार्यपत्रमा जनसहभागिता र जनसहयोग लिई षडानन्दले गरेका महत्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने विचार व्यक्त गरे । आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ ।
गुठीका नाममा लाल मोहोरसमेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००÷१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ । कार्यक्रम निर्मला पोखरेलले सञ्चालन गरेकी थिइन ।








