नेकपाकै प्रस्तावमा कांग्रेसका घिमिरे शहिद स्मृति क्याम्पस अध्यक्षमा चयन

मंसिर २ चितवन । लामो रस्साकस्सी पछि चितवनको पुरानो शैक्षिक धरोहर शहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्ष चयन भएको छ । क्याम्पसको सोमबार सम्पन्न प्रथम सभाले कांग्रेस निकटका रामबाबु घिमिरेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
घिमिरे लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् । क्याम्पस सभामा नेकपा निकटका इश्वरी अर्यालको प्रस्तावमा तत्कालिन कांग्रेस क्षेत्रिय सभापति कुमार कार्की घिमिरेको समर्थक रहेका थिए ।
सञ्चालन समिति चयनमा नेकपा र नेपाली कांग्रेसले राजनितिक सहमति गरेको बुझिएको छ । सञ्चालक समितिका अन्य पदाधिकारी र सदस्यहरु चयन हुन बाँकी छ । नेकपा निकटका इश्वरी अर्याललाई उपाध्यक्ष दिने तयारी छ । अर्याल यसअघि भरत खनाल अध्यक्ष रहेको सञ्चालक समितिमा पनि उपाध्यक्ष थिए ।

खनाल नेतृत्वको समितिको म्याद जेठमा सकिएको थियो । त्यसयता नयाँ अध्यक्ष चयनका लागि नेकपा र कांग्रेसबीच विवाद हुँदै आएको थियो । राजनीतिक सहमति अनुसार क्याम्पस प्रमुख अब नेकपा निकटका प्राध्यापकले पाउने छन् ।
श्रोतका अनुसार क्याम्पस प्रमुखमा नेकपा निकटका धर्मदत्त तिवारीलाई नियुक्त गरिदै छ । क्याम्पस सञ्चालक समितिको म्याद सकिएपछि राजिनामा दिईसकेकि क्याम्पस प्रमुख राधा वालिकाले रकम दुरुपयोग गरेको लगायत माग राख्दै नेकपा निकटका विद्यार्थी संगठनहरुले प्रशासन शाखामा तालावन्दी गर्दै आएका छन् ।








