इलाम उत्कृष्ट पर्यटकिय गन्तव्य- झलनाथ खनाल

कार्तिक २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का वरिष्ठ नेता झलनाथ खनालले इलाम प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लो भएको बताएका छन् ।
शुक्रबार सूर्योदय नगरपालिकाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले इलाम ऐतिहासिक रूपमै सुन्दर जिल्ला भएको बताएका हुन् ।
विभिन्न विवाद, बहस अन्त्य गर्दै २०६२–६३ को परिर्वतनपछि देशको विकाससँगै इलाम जिल्ला पनि पर्यटकीय हबका रुपमा विकसित हुँदै गएको नेता खनालको भनाइ छ । ‘इलामको सूर्योदय नगरपालिका प्राकृतिक तथा भौतिक पूर्वाधार विकासमा विशिष्टता भएको नगरपालिका हो । देशको पर्यटन विकासमा यसले ठुलो भूमिका खेलेको छ । त्यहाँको विकासको गति अझै तीव्र रुपमा अघि बढेको छ’, उनले भने ।

उनले प्रतिदिन १० हजारसम्म पर्यटक उक्त भित्रिने गरेको जानकारी गराउँदै त्यहाँका सबै वडा पूर्वाधार विकास भइरहेको दाबी गरे । उनले एकपटक इलाम घुम्न आउन पनि सबैलाई आग्रह गरे । खनालले भने, ‘सूर्योदय नगरपालिकामा यातायात सुविधा छ । बिजुली पनि सबै वडामा पुगेको छ । पर्यटकीय हिसाबले होटल, होमस्टे पनि ठुलो संख्यामा विस्तार भइरहेको छ । म एउटा नेताको भन्दा पनि इलाम क्षेत्र नं. १ बाट निर्वाचित सांसदको हैसियतले यहाँ घुम्न आउन विनम्र अनुरोध गर्दछु ।’
यस्तै सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त नगरपालिका भुटान, बंगलादेश, सिक्किमबाट एकैदिन आइपुग्ने ठाउँ भएका कारण वार्षिक ३ लाख पर्यटक भित्रिने गरेको जानकारी दिए ।
प्रदेश नम्बर १ सरकारको सहयोगमा आयोजना हुन लागेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव–२०७६ बारे जानकारी गराउँदै उनले सीमा विवादको असर नहुने बताए ।
नगरपालिकाले मंसिर १४ गतेदेखि १८ गतेसम्म चल्ने महोत्सवमा ५ लाख पर्यटकले सूर्योदयको दृश्यावलोकन गर्ने अपेक्षा गरिएको छ ।








