दशरथ रंगशालामा हुने भनिएको नेपाल र कुवेतबीचको खेल भुटानमा

कार्तिक २५, काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार नेपाल र कुवेतबीचको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा मंसिर ३ गते हुने निश्चित भएको जानकारी दिएको हो ।
यसअघि उक्त खेल दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुनः निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न निर्देशन दिएपछि एन्फाले एएफसीलाई भुटानको चाङ्लिमिथाङ रंगशालाको नाम सिफारिस गरेको थियो ।

नेपालको सिफारिसमा एएफसीले स्वीकृति दिएपछि भुटानमा खेल हुने निश्चित भएको एन्फाले जनाएको छ ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्यो । यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।








